दाहालद्वारा सुदूरपश्चिमको लोडसेडिङ हटाउन कुलमानलाई आग्रह


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

असार १०, २०७४- माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुदूरपश्चिमको लोडसेडिङ तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।

दाहाल निवास लाजिम्पाटमा शनिबार भएको भेटमा सुदूरपश्चिमको लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न घिसिङलाई आग्रह गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन/चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिम पुगेका दाहाललाई कञ्चनपुरवासीले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदूरपश्चिममा अन्त्य नभएको गुनासो गरेका थिए । दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदूरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए । शारीरिक अस्वस्थताका कारण दाहाल शनिबार बिहान धनगढीबाट काठमाडौं फर्केको उनको सचिवालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com