१९ गोल्ड मेडल विजेता अमेरिका निवासी १२ बर्षकी कृषा कार्की


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

अमेरिकाको मेरिल्याण्ड निवासी १२ बर्षकी कृषा कार्कीले गत साता वासिंटन डिसीमा आयोजित एक नेपाली कार्यक्रममा युवा सामुदायिक मार्शल आर्ट नायक सम्मान प्राप्त गरिन् । यो सम्मान उनका लागि एउटा महत्वपूर्ण सम्मान हो । कहिलेकाँही नेपाली समुदायमा सामुदायिक सम्मान केवल दिन र लिनका लागिमात्र पनि हुने गर्छन् । तर कृषा यस्ता सम्मानका लागि साँच्चीकै योग्य बालिका हुन् ।

कृषा तेक्वान्दोको सेकेण्ड डन ब्लाकबेल्ट हुन् । २०१० मा अमेरिका आएकी कृषाले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरुमा गोल्ड मेडल जितिसकेकी छिन् । सन् २०१२ र सन् २०१६ मा पोर्टल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल जितेकी कृषाले अमेरिकाका भर्जिनिया, नर्थ क्यारोलिना र मेरिल्याण्ड लगायतका राज्यमा सम्पन्न विभिन्न १७ राष्ट्रिय प्रतियोगिताहरुमा गोल्ड मेडल जितेकी छिन् । १२ बर्षीया कृषा तेक्वान्दोमा मात्र होइन विद्यालयमा पनि पढाईमा अब्बल छिन् ।

कृषा छैठौं डन ब्लाकबेल्ट मास्टर कुमार कार्की र चौथो डन ब्लाकबेल्ट मास्टर कल्पना कार्कीकी छोरी हुन् । कुमार कार्की १९९२ देखि २००२ सम्म नेपालको राष्ट्रिय खेलाडी थिए भने १९९५ देखि सन् २००८ सम्म सरकारी तेक्वान्दो प्रशिक्षकका रुपमा काम गरेका थिए । कल्पना कार्की सन् १९९८ देखि सन् २००६ सम्म नेपालको राष्ट्रिय खेलाडी थिइन् भने अन्तर्राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय रेफ्री हुन् । कुमार कार्की र कल्पना कार्की तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका गोल्ड मेडलिस्ट हुन् । चर्चित तेक्वान्दो खेलाडीकी छोरी कृषाको रगतमा नै तेक्वान्दो बगिरहेको छ ।

बुबा कुमार कार्कीका साथमा कृषा ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com