मोबाइल फोन खरिद गर्ने निर्णयको विरोध, निर्णय तत्काल कार्यान्वयन नगरिने


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यका लागि मोबाइल फोन खरिद गर्ने निर्णय गलत भएको भन्दै नेकपा(माओवादी केन्द्र) निकटको अखिल(क्रान्तिकारी)ले विरोध गरेको छ ।

क्रान्तिकारीले राज्य कोषबाट रकम लिएर आफूखुसी सेवा सुविधा बढाउने कार्य नसुहाउँदो भएको छ भन्दै विरोधस्वरुप प्रमुख र उपप्रमुखका लागि मोबाइल खरिदका लागि भन्दै ‘रु एक चन्दा अभियान’ समेत सुरु गरेको छ ।

नयाँ बानेश्वरमा आयोजित विरोधसभामा क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्माले जनप्रतिनिधिका नाममा जनताको करबाट उठेको रकम बाँड्ने महानगरका प्रमुख र उपप्रमुखलगायतको निर्णयले लोकतन्त्रको खिल्ली उडाएको बताउनुभयो ।

यस्तै क्रान्तिकारीको क्याम्पस जिल्ला समिति काठमाडौँले पनि प्रमुख र उपप्रमुखले आफ्नै सेवासुविधा बढाउन खोज्नु गलत भएको भन्दै क्याम्पस अगाडि प्रदर्शन गरेको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरका जनप्रतिनिधिलाई सहज सञ्चार सुविधा उपलब्ध गराउने भन्दै मङ्गलबार रु ३५ लाख बराबरको मोबाइललगायत भौतिक सेवासुविधा लिने निर्णय गर्नुभएको थियो ।

चर्को आलोचनापछि काठमाडौँ महानगरपालिकाले स्थानीय निकायका जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहितको बैठकले गरेको छ ।

महानगरको हालै बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिलाई रु ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचनापछि कार्यान्वयन नगर्ने निर्णय गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । असार १५ गतेदेखि चिकित्सकको टोली पठाएर वृद्धवृद्धाको घरमै स्वास्थ्य जाँच गर्ने महानगरले निर्णय गरेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com