बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरू


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

दोस्रो चरणको निर्वाचनका लागि बुटवल उपमहानगरपालिकामा राजनीतिक दलले उम्मेदवारको नामावली सार्वजनिक गरिसकेका छन् । स्थानीय तहको दोस्रो निर्वाचन यही असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा हुँदै छ । प्रदेश नम्बर २ को निर्वाचन असोजमा सारिएको छ ।

बुटवल उपमहानगरका भावी मेयरका यस्ता छन् एजेन्डा

विकासमा दिनरात खटिन्छु
खेलराज पाण्डे
मेयर उम्मेदवार, कांग्रेस

बुटवल उपमहानगरमा कांग्रेस–माओवादी गठबन्धनको जित सुनिश्चित ठानेका छौँ । हामीले धेरै सुधार गरेका छौँ । उम्मेदवार हुनुअघि पनि मैले जनताकै सेवामा जीवन समर्पण गर्दै आएको छु । मतदाताहरूले मलाई राम्रोसँग बुझेका छन् । बुटवल उपमहानगरमा पछि थपिएका क्षेत्र मोतीपुर र सेमलाल कांग्रेसको पकट क्षेत्र हो । यसले पनि हामीलाई सहज बनाएको छ । साथै, नगर क्षेत्रभित्रको सुकुम्बासीहरूको पनि मलाई समर्थन छ । कांग्रेसको संगठन निर्माणदेखि हरेक क्षेत्रमा विगतको तुलनामा धेरै सुधार आएकाले जित निश्चित रहेको छ । साथीहरू र सिंगो पार्टीपंक्ति नै चुनाव प्रचारमा लागेका कारण हौसला बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मैले मेयरमा जिते नगरपालिका कुनै दलविशेषको नहुने र नगरको विकास निर्माणमा दिनरात खट्ने प्रतिबद्धता जनाउँछु । कांग्रेस र माओवादी केन्द्रको जित नै मजदुर, किसान, सुकुम्बासी, विद्यार्थी, आमउद्योगी व्यवसायीहरूदेखि सबै वर्गको जित हो । त्यसकारण पनि सबै वर्गको माया ममताबाटै मेरो जित निश्चित छ ।

प्रादेशिक राजधानी र महानगरमा स्तरोन्नति
शिवराज सुवेदी
मेयर उम्मेदवार, एमाले
एमालेले आफ्नो विजय शृंखलालाई यसपटक पनि कायम राख्नेछ । एमालेविरुद्ध जस्तासुकै मोर्चाबन्दी भए पनि भारी मतअन्तरले एमालेले जित्नेमा ढुक्क छु । बुटवलसहित आसपासमा एमालेले विकासको आधारशिला खडा गरेको छ । ती काम सम्पन्न गराउन पनि जनताले एमालेलाई नै जिताउनेछन् । नेता विष्णु पौडेलको अगुवाइमा बुटवल, मोतीपुर, सेमलालमा विकास निर्माणका योजनाहरू अगाडि बढेका छन् । यहाँ महत्वपूर्ण कामको थालनी भएको छ भने अझ धेरै महत्वपूर्ण कामहरू गनुपर्ने भएको छ ।

एमालेको जितपछि बुटवललाई प्रादेशिक राजधानी र महानगरमा स्तरोन्नति गर्ने एजेन्डा अगाडि सारेका छौँ । प्रदेशको आर्थिक विकासको इन्जिनका रूपमा रहेको बुटवल उपमहानगरपालिकालाई प्रदेश नम्बर ५ को केन्द्र (प्रादेशिक राजधानी) घोषणा गर्न र प्रदेश नम्बर ५ लाई विभाजित गर्ने षड्यन्त्रलाई परास्त गर्न प्रमुख भूमिका खेल्नेछौँ । यस्तै, बुटवललाई आधुनिक एवं स्मार्ट सिटी एवं सेमलार र मोतीपुरलाई स्याटलाइट सिटीमा विकास गर्न, कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना र तिनाउ–दानव करिडर आयोजना निर्माण गर्न, ऐतिहासिक एवं धार्मिक क्षेत्रसँग आबद्ध गरेर बुटवललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न तथा वसन्तपुर एवं नुवाकोट क्षेत्रमा केबलकार तथा रिसोर्टहरूको विकास गर्न, बुटवल उपमहानगरलाई प्रादेशिक राजधानीका लागि अनुकूल हुने गरी सडक र सञ्चार सञ्जाल एवं अन्य पूर्वाधार निर्माण गर्न पनि एमालेको जित आवश्यक रहेको छ ।

स्मार्ट सिटी बनाउँछु जगतबहादुर पोखरेल
उपमेयर उम्मेदवार, माओवादी केन्द्र
बुटवललाई स्मार्ट सिटी बनाउने गरी काममा लाग्नेछु, साथै बुटवल उपमहानगरलाई आर्थिक हबका रूपमा विकास गरिनेछ । शैक्षिक केन्द्रका रूपमा बुटवललाई विकास गर्न विभिन्न योजना अघि सारिनेछ ।

बुटवललाई महानगर बनाएर यसको विकासमा लाग्नेछौँ । अहिलेको चुनावी तालमेलले जितलाई थप सहज बनाएको छ । म निर्वाचित भए सबैभन्दा पहिला सरकारी सेवामा हुने ढिलासुस्ती हटाउनेछु । नगरपालिकालाई कुनै पार्टीविशेषको नभई साझा बनाउन लाग्नेछु । यहाँका हरेक काम गुणस्तरीय र पारदर्शी हुनेछन् । बुटवलका खानेपानीदेखि अन्य विभिन्न समस्या हल गर्न ठोस योजनासहितका काम हुनेछन् । यहाँको सडक, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रको विकासमा मेरो पहल हुनेछ ।

ग्रिन सिटी बनाउन लागिपर्छु
टीका पौडेल
मेयर उम्मेदवार, राप्रपा
मेरो उम्मेदवारी समग्र क्षेत्रको विकासका लागि हो । मुलुकलाई हिन्दू राष्ट्र कायम गराउन, महिला हिंसा रोक्न, भ्रष्टाचार रोक्न मेरो उम्मेदवारी हो । मैले बुटवलमा जितेमा बुटवललाई ग्रिन सिटी बनाउन लागिपर्छु । बुटवलवासी अहिले धमिलो पानी पिउन बाध्य छन् । स्वच्छ र आवश्यकताअनुसार पानीको व्यवस्था मिलाउन म लागिपर्नेछु । यस्तै, तिनाउ नदी कटान रोक्नेदेखि यहाँको फोहोरमैला व्यवस्थापनका मुख्य एजेन्डा मेरा रहेका छन् । बुटवलमा शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, सडक हरेक क्षेत्रको विकास मेरो प्रथामिकतामा पर्नेछ ।

उद्योग निजीकरण रोक्नेछु
हरिसुन्दर बासी
मेयर उम्मेदवार, नेमकिपा
बुटवलको महत्वपूर्ण उद्योग बुटवल धागो कारखानाको निजीकरण गर्ने प्रयासदेखि यहाँका अन्य क्षेत्रमा भएको निजीकरणको प्रयास बुटवलवासीको भावनाविपरीत छ । यस्ता कार्यमा लाग्ने दलहरूको विपक्षमा जनता भएकाले मजदुर किसान पार्टीलाई मत दिएर जिताउँछन् भन्ने विश्वास लिएको छु । मजदुर किसान पार्टीले चुनाव जितेमा उपमहानगरपालिकाले नै कलेज कारखाना सञ्चालन गर्नेछ । आमजनताको समस्या हल गर्न कटिबद्ध भएर लाग्नेछु । बुटवल फूलबारीको विकासमा मजदुर किसान पार्टी नयाँ अवधारणासहित अगाडि बढ्नेछ । बुटवलमा भारतीय पेन्सन क्याम्प राख्न दिने निर्णय फिर्ता गराइनेछ ।

भ्रष्टाचारमुक्त नगर

ढुण्डीराज शर्मा
मेयरका उम्मेदवार, राजमो

राजमोले निष्ठाको राजनीति गर्दै आएको छ । देश जोगाउने पार्टीका रूपमा परिचित छ । राष्ट्रियताका सवालमा सधैँ अडिग रहँदै आएको छ । सच्चा राष्ट्रवादी पार्टीका रूपमा रहेकाले आमजनताले हाम्रो पार्टीलाई यस चुनावमा अत्यधिक मत दिने विश्वास लिएका छौँ । मैले चुनाव जितेमा बुटवल उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनेछु । पहिलो कामका रूपमा भ्रष्टाचारमुक्त बनाउने अभियान थाल्नेछु । यस्तै, जितगढी किल्लालाई मणिमुकुन्दसेन पार्क हुँदै नुवाकोट जोडेर यसलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलका रूपमा विकास गर्नेछु । यस्तै शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका समस्या समाधान गर्न म लागिपर्नेछु ।

सुशासन र सदाचारयुक्त नमुना सहर
होमबहादुर गलामी
मेयरका स्वतन्त्र उम्मेदवार
नयाँ शक्ति, संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टीलगायत सात दलको समर्थनमा बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारीका रूपमा चुनावी मैदानमा छु । ठूला दलहरू एक–आपसमा भिड्ने काम भएको छ, जसका कारण विकासले गति लिन सकेको छैन । यस्तो अवस्थामा आपसी तिक्तता मेटाउँदै सबैलाई मिलाएर विकासमा अग्रसर गराउन सक्छु । सोही कारण चुनावी मैदानमा उत्रिएको छु ।

बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त सहर बनाउन म लागिपर्नेछु । राजनीतिक दलहरूको भड्किलो र रवाफयुक्त शैलीबाट दिक्क भएर नै विगत केही वर्षदेखि स्वतन्त्र बसेको हुँ । दलहरूको विकासका नाममा कार्यकर्ता पोस्ने शैली र उच्छृङ्खल व्यवहारको विरोध गर्दै बुटवल उपमहानगरलाई सुशासन र सदाचारयुक्त नमुना सहरको रूपमा स्थापित गर्न म चुनावी मैदानमा उत्रिएको छु ।

बुटवल उपमहानगरपालिकाका उम्मेदवारकाे नामावली यसप्रकार छ:

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com