सुरक्षा अभ्यासका लागि त्रिभुवन विमानस्थल भोली आधा घण्टा बन्द हुने


प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

असार ८, २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोली आधा घण्टाका लागि बन्द हुने भएको छ । सुरक्षा अभ्यासका लागि भोली अपरान्ह साढे ४ बजेदेखी ५ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । विमानस्थल बन्द भएपछि सो अवधीमा उडान र अवतरणको सम्पूर्ण काम ठप्प हुने भएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक २ वर्षमा “फुल स्केल इमर्जेन्सी एक्सरसाइज” गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको प्रवक्ता ठाकुरले बताउनुभयो । रेडियो कान्तिपुरसँग कुरा गर्दै प्रबक्ता ठाकुरले ३० मिनेट विमानस्थल पूर्ण रुपमा बन्द गरेर बिमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिने जानकारी दिनुभयो । सो अभ्यासलाई/ विमानस्थलमा कुनै जहाज दूर्घटना भएको खण्डमा तत्काल गरिने उद्दारको पूर्व अभ्यास तथा क्षमता जाँचको रुपमा पनि लिन सकिने उहाँले बताउनुभयो ।

अभ्यासका लागि एयरबसको ए ३३० सिरिजको जहाज छनौट गरिएको छ जसमा १ सय ८० जना यात्रु रहनेछन् । सो जहाज पेप्सीकोला क्षेत्रमा दूर्घटना हुने र त्यसलाई निभाउन तथा घाइते तथा मृतकको उद्दारका लागि उपलब्ध हरेक प्रयास गरिने ठाकुरले बताउनुभयो । अभ्यासका क्रममा विमानस्थलले यो पटक जहाज दूर्घटनाका घाइते यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पुर्‍याईने योजना रहेको प्रवक्ता ठाकुरको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com