बसको ठक्करबाट दुई विद्यार्थी घाइते, प्रहरीलाई पेट्रोल छर्केर आगो लगाउने प्रयास


प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

असार ८, २०७४

पोखरा : पोखरामा बसको ठक्करबाट परीक्षा दिएर फर्किँदै गरेका दुई विद्यार्थी गम्भीर घाइते भएका छन्। कक्षा ११ को परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थी सवार स्कुटरलाई बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका हुन्।

पोखराको माउन्ट अन्नपूर्ण माविमा अध्ययनरत रुपेश थापा र शिशिर थापा बरपाटनस्थित विन्ध्यावासिनी माविमा परीक्षा दिएर फर्किदै गर्दा उनीहरू सवार स्कुटरलाई बसले ठक्कर दिएको थियो। बाग्लुङबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९५०५ नम्बरको बसले ग १२ प ३८२७ नम्बरको स्कुटरलाई पोखराको अर्चलबोट नजिकै ठक्कर दिएको हो। १० बजे परीक्षा सकेर फर्किँदै गरेका थापाद्वयलाई स्कुटरबाट बाटो काट्ने क्रममा तीब्र गतिमा आएको बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

गम्भीर घाइते उनीहरूलाई सहारा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ। दुर्घटना लगतै आक्रोशित विद्यार्थीले बसमा आगजनी गरेका थिए। विद्यार्थीहरूले बसको सिसा  फुटाएका छन्। बसमा आगो लागेपछि निभाउन भित्र पसेका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा जम्मा भएको भीड पन्छाउने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो। प्रहरीमाथि दुर्व्यबहार गर्ने दुई महिलालाई पनि प्रहरी नियन्त्रणमा छन्। आक्रोशित भीडले गरेको आक्रमणमा प्रहरी सहायक निरीक्षक सुवेदीसहित प्रहरी हवल्दार पूर्ण बहादुर डेगा र प्रहरी जवान रामशरण तिवारी घाइते भएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com