सहज ‘कनेक्टिभिटी’ मा चीन सकारात्मक


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

चीनसँगको सडक, रेल तथा हवाई सञ्जाल बलियो र सरल बनाउने विषय नेपाल सरकारले लिने निर्णयमा निर्भर गर्ने चिनियाँ पक्षले बताएको छ । चार वर्षपछि काठमाडौंमा मंगलबार भएको नेपाल–चीन कूटनीतिक संयन्त्रको बैठकमा चिनियाँ टोलीले यस्तो जनाउ दिएको हो ।
२०७२ वैशाखको भूकम्पपछि तातोपानी नाका बन्द छ भने अर्को नाका रसुवगढीमा नेपालले राम्रो सडक सञ्जाल बनाउन सकेको छैन । प्राकृतिक र मानवीय दृष्टिले पूर्ण सुरक्षित नाकाहरू चीनको रोजाइमा रहने बैठकमा सहभागीले बताए । सडक र रेल सञ्जालका लागि नेपालको प्रस्तावसमेत चिनियाँ पक्षले यसअघिका विभिन्न बैठकमा झैं यसपटक पनि माग गरिरहेको सहभागीले जनाए ।
हरेक वर्ष काठमाडौं र बेइजिङमा आलोपालो हुने उक्त बैठक नेपालको राजनीतिक उतारचढाव र चिनियाँ चासो एवं संवेदनशीलताका कारण चार वर्षदेखि हुन सकेको थिएन । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बैठक तीन घण्टा चलेको थियो । सन् १९९६ मा निर्माण भएको संयन्त्रको पछिल्लो बैठक २०१३ मा बेइजिङमा बसेको थियो । बैठकमा नेपाल–चीनबीचको राजनीतिक, आर्थिक र आपसी हितका समग्र विषयमा छलफल भएको सहभागीले बताए । बैठकमा चिनियाँ पक्षको नेतृत्व त्यहाँका सहायक विदेशमन्त्री कुङ सेन यु र नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेका थिए । बैठकमा गृह, अर्थ, संघीय मामिला तथा स्थानीय विकास, संस्कृति/पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य, ऊर्जा मन्त्रालय, योजना आयोग, लगानी बोर्ड, पुनर्निर्माण प्राधिकरणलगायतका अधिकारी पनि सहभागी थिए ।
दुवै मुलुकबीच विगतमा सम्पन्न सम्झौता तथा सहमति कार्यान्वयन तत्काल अघि बढाउन बैठकमा सहमति जुटेको बैठकपछि जारी गरिएको नोटमा उल्लेख छ । ‘नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक सहयोग, लगानी, जनस्तरको सम्बन्धलगायत समग्र पक्षहरूमा विस्तृत छलफल भयो । राजनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने, उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई अझ बढी सुदृढ बनाउने, व्यापार, पर्यटन प्रवद्र्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्बन्ध विस्तार लगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भयो,’ बैठकपछि नेपाली पक्षले जारी गरको दसबुँदे प्रेस नोटमा भनिएको छ, ‘हालै सम्पन्न वेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत सहयोगसम्बन्धी सम्झौताले समेटेका विषयहरूलाई कार्यान्वयनमा लैजाने सम्बन्धमा छलफल भएको छ । यसअघिका अन्य सम्झौतालाई कार्यान्वयन तहमा पुर्‍याउन नियमित बैठकहरू बस्ने सहमति भएको छ ।’ सडक र महँगो हवाई टिकटका कारण नेपालमा चिनियाँ पर्यटक घटेको विषयमा समेत छलफल भएको एक सहभागीले जनाए ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनसँगको सम्बन्धलाई लिएर विभिन्न टिप्पणी आएपछि चिनियाँ पक्षको पहलमा हतारमा संक्षिप्त बैठक तय भएको हो । परराष्ट्र अधिकारीले अन्तिम समयसम्म पनि हुने/नहुने यकिन गर्न नसकिएको उक्त बैठक यसअघि दुईपटक तय भएर अन्तिम समयमा स्थगित भएको थियो । गत भदौ र माघमा उक्त बैठक हुने गरी तयारी अघि बढे पनि अन्तिम समयमा अचानक रद्द भएको हो । नेपालले बेल्टन रोड इनिसियटिभ्स (बीआरआई) मा हस्ताक्षर गरेर चीनको पक्षमा सकारात्मक सन्देश दिएपछि नयाँ सरकार गठनलगत्तै चीनले यो बैठकलाई अघि बढाएर नेपालतर्फ सन्देश दिएको मानिएको छ ।
काठमाडांैस्थित चिनियाँ दूतावासले राजनीतिक भेटघाटमा पनि लगातार बैठकको विषयमा धारणा राख्दै आएको थियो । चिनियाँ टोली राजनीतिक दलका नेताहरूसँग बुधबार भेटघाट गरेर बिहीबार फर्कने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com