स्थानीय तहमा केन्द्रबाटै धमाधम कर्मचारी खटाइँदै


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

सरकारले स्थानीय तहबाट प्रदान गरिने सबै सेवालाई प्रभावकारी रूपमा सम्पन्न गर्न सात सय ४४ वटै स्थानीय तहमा संक्रमणकालीन व्यवस्थापन थालेको छ । स्थानीय निकायबाटै स्वास्थ्य, शिक्षा, कृषि, पशु विकास, उद्योगलगायतका कार्य सम्पन्न गर्न सम्बन्धित मन्त्रालयले आफू मातहतका कर्मचारी स्थानीय तहमा खटाउने भएका छन् ।

मुख्य सचिव डा.सोमलाल सुवेदीले दिनहुँजसो बैठक राखेर विभिन्न मन्त्रालयका सचिवलगायत सरोकारवाला निकायलाई आफू मातहतका कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गराएका छन् । पछिल्लो पटक मुख्यसचिव सुवेदीको अध्यक्षतामा संघीय मामिला, सामान्य प्रशासन तथा स्वास्थ्य मन्त्रालयका सचिवलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले सबै स्थानीय तहमा स्वास्थ्य सेवाका कर्मचारीसहित भौतिक सामग्री हस्तान्तरण गर्ने निर्णय गरेको हो । जसअनुसार प्रत्येक स्थानीय तहमा एकजना मेडिकल अफिसर तत्काल पठाएर स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय भएको छ ।

आफ्नै गाउँटोलबाट जनतालाई दक्ष चिकित्सकमार्फत स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन यस्तो निर्णय गरिएको मुख्यसचिव डा.सुवेदीले जानकारी दिए । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आइसकेकाले तत्काल जनतालाई सेवा प्रदान गर्न र संघीयताको प्रत्यक्ष अनुभूति दिलाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

१५ असारसम्म स्थानीय तहमा पुगिसक्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रेमलाल लामिछानेले निर्वाचनबाट जनप्रतिनिधि आइसकेका स्थानीय तहमा एक साताभित्र र निर्वाचन हुन बाँकी रहेका स्थानीय तहमा १५ असारभित्र चिकित्सकसहितको कर्मचारीको टोली अनिवार्य रूपमा खटाउने निर्णय भएको जानकारी दिए । सरकारको सो निर्णयअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य– चौकी, आयुर्वेद विभागअन्तर्गतका आयुर्वेद सेवा केन्द्रसमेत असार मसान्तसम्म जनशक्ति र भौतिक सामग्री स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेछ । सरकारले यसअघि शिक्षा मन्त्रालय, वन तथा भूसंरक्षण, कृषि विकास, पशु विकास मन्त्रालय मातहतका विभिन्न निकाय र कर्मचारी स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ ।

बजेट कार्यान्वयनको अन्योल तत्काल अन्त्य गरिने
हाल स्थानीय तहमा सरकारबाट विनियोजित बजेट के–कसरी खर्च गर्ने भन्नेमा जनप्रतिनिधिमा अन्योल छ । स्थानीय तहमा करोडदेखि अर्बसम्मको बजेट गएको छ । मुख्यसचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवाला निकायका मन्त्रालयको सचिव संलग्न बैठकले आगामी २०७४-७५ को स्थानीय तहको विनियोजित बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक मार्गदर्शन र कार्यविधि तयार गरी तत्काल संघीय मामिला मन्त्रालयमार्फत स्थानीय तहमा पठाउने निर्णय गरिएको छ । बैठकले विभिन्न मन्त्रालयले मन्त्रालयअन्तर्गत स्थानीय तहमा भएका कार्यक्रम र बजेटसमेत स्थानीय तहमा पठाउने निर्णय भएको छ ।

कर्मचारी खटाउन बाँकी रहेकालाई एक साताको समय
बैठकले स्थानीय तहमा कर्मचारी खटाउन बाँकी रहेका मन्त्रालयलाई एक साताको समय दिएको छ । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सिँचाइ, खानेपानीलगायत मन्त्रालयले स्थानीय तहमा खटाउने कर्मचारीको विवरण एक साताभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउन सम्बन्धित मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

महानगर र उपमहानगरमा नवौँ र १०औँ तहका कर्मचारी

महानगर र उपमहानगरमा स्वास्थ्य मन्त्रालयले नवौँ र १०औँ तहका कर्मचारीको नेतृत्वमा डाक्टरसहित कर्मचारीको टोली खटाउने छ । नगरपालिका तथा गाउँपालिकामा जनसंख्याको चाप र अन्य उपयुक्तताका आधारमा सेवा प्रवाहको मापदण्डसमेत बनाई छैटौँदेखि आठौँ तहका कर्मचारीको नेतृत्वमा स्वास्थ्य टोली पठाइने छ । बैठकले जिल्ला अस्पतालहरू स्थानीय तहमा हस्तान्तरण गर्ने, नयाँ अस्पताल स्वीकृति, जनस्वास्थ्य सेवाको विधि, प्रक्रिया, अनुमगमन प्रक्रियासमेतको कार्ययोजना तीन महिनाभित्र बनाएर कार्यान्वयनमा ल्याउने निर्णयसमेत गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com