भरतपुरको वडा नम्बर १९ मा च्यातिएको मतपत्र एक साताभित्र झिकाउन सर्वोच्चको आदेश


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएको मतपत्र एक साताभित्र  झिकाउन आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको आजको इजलासले च्यातिएको मतपत्र, निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाइल एक साताभित्र ल्याउन आदेश दिएको हो ।  मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको भन्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी मतगणना कार्य पुन:सञ्चालन गर्न, गराउन परमादेशको माग गरिएको छ । मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले  गत जेठ १४ गते मतपत्र च्यातेको आरोप छ । यसअघि, आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको पुष्टि गर्दै स्थानीय तह निर्वाचन ऐन अनुसार पुन: मतदान गर्ने निर्णय गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com