‘गैरकानुनी कामदार जुन ३० भित्र दर्ता नगरे कारबाही’


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४- मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई यही जुन ३० भित्रै दर्ता गराउन रोजगारदाताहरुलाई आग्रह गरेको छ । ती कामदारहरुलाई दर्ता नगराएमा वा दर्ता नगरी जागिर दिएमा जुन ३० पछि रोजगारदाताले कारबाही भोग्नुपर्ने चेतावनी पनि उसले दिएको छ ।सरकारी समाचार संस्था ‘बर्नामा’ले मलेसियाली अध्यागमन विभाग महानिर्देशक दातुक मुस्ताफिर अलिलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार जुन ३० भित्र आफूसँग भएका गैरकानुनी कामदार दर्ता नगर्ने रोजगारदाताले कानुनी कारबाही ब्यहोर्नुपर्नेछ । रोजगारदाता र कामदारले उक्त अवसरको सदुपयोग गर्नुको सट्टा ‘जरिवाना तिरेपछि सबै ठीक हुन्छ’भन्ने मनसायले ढुक्कै भएर बसेको भन्दै समयसीमाभित्रै दर्ता नगरेमा कडा कारबाही हुने पनि महानिर्देशक अलिले बताए ।

कतिपय रोजगारदाता भने सरकारी प्रावधानविपरीत त्यस्ता हैसियतका कामदारलाई बिनादर्ता रोजगारी दिँदै आइरहेका छन् । कानुनी प्रावधानअनुसार गैरकानुनी कामदारलाई जागिर दिने रोजगारदातालाई १० हजारदेखि ५० हजार रिंगिटसम्म जरिवाना र एक वर्ष जेल वा दुवै सजाय हुनसक्छ ।

नेपालीहरुको लागि वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य रहँदै आएको मलेसियामा हाल कानुनी रुपमा करिब ५ लाखभन्दा बढी नेपाली र तीबाहेक अन्य कयौं गैरकानुनी अवस्थामा कार्यरत रहेको हुनसक्ने अनुमान छ ।

यस्तो छ दर्ता प्रक्रिया
यस कार्यक्रममार्फत आफ्ना सबै विवरणसहित आफूलाई रोजगारी उपलब्ध गराउने कम्पनीको प्रतिनिधिसहित अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने प्रावधान छ । त्यसपछि रोजगारदाताले प्रतिकामदार ५ सय रिंगिट र कामदार स्वयंले ३ सय गरी ८ सय रिंगिट जरिवाना तिर्नुपर्नेछ । यद्यपि यसरी दर्ता हुन कामदार गैरकानुनी भएको कम्तीमा ६ महिना भइसकेको हुनुपर्ने, आपराधिक गतिविधिमा लागेको पृष्ठभूमि नभएको, संयुक्त राष्ट्र संघमार्फत शरणार्थी परिचयपत्र नलिएको हुनुपर्ने मापदण्डहरु छन् ।

कामदारको बायोमेट्रिक विवरण दर्ता गरेपछि विभागले त्यस्तो कार्ड उपलब्ध गराउँछ र उक्त कार्डको म्याद आगामी वर्ष फेब्रुअरी १५ सम्म रहने जनाइएको छ । महानिर्देशक अलिका अनुसार त्यस्तो कार्ड गत जुन ७ सम्ममा १ लाख ४ हजार ५ सय ७ जना कामदारले लिइसकेका छन् । तीमध्ये हजारौं नेपाली रहेका अनुमान छ ।

दर्जन अवसर
मलेसियाले गत २००९ यता झण्डै दर्जनपटक यस्ता अवसर दिइसकेको छ । उसले पछिल्लोपटक फेब्रुअरी १५ देखि यही जुन ३० सम्मका लागि अध्यागमन विभागमा दर्ता गराई ईन्फोर्समेन्ट–कार्ड (ई–कार्ड) लिनुपर्ने प्रावधानसहित त्यस्ता कामदारका लागि नयाँ कार्यक्रम घोषणा गरेको थियो । त्यसअघि उसले ‘रिहाईरिङ प्रोग्राम’ भनिने दर्ता कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमको समयावधि गत जनवरी १५ मा सकिएको थियो । त्यसपछि फेब्रुअरी १५ देखि इकार्डसहितको ‘पुन: भर्ना एवं स्थानान्तरण कार्यक्रम’ सुरु गरेको थियो ।

सँधैको पिरलो
गैरकानुनी कामदारसम्बन्धी समस्या मलेसियालाई पिरलो बन्दै आएको छ । उसले गैरकानुनी विदेशी कामदारको संख्या घटाउन सफल भए पनि अपेक्षित रुपमा उनीहरुलाई मुलुकबाट हटाउन भने सफल भएको छैन । विचौलियाबाट कामदारहरुमा हुने ठगी नियन्त्रण गर्न यो प्रक्रिया प्रभावकारी भए पनि अझै पनि लाखौं विदेशी कामदार दर्ताबिनै काम गरिरहेका हुनसक्ने अनुमान छ । मलेसियाले गत फेब्रुअरी १५ देखि लागू भएको ‘पुन भर्ना एवं स्थानान्तरण कार्यक्रम’मार्फत दर्ता भई योग्य हुने कामदारलाई अब निर्माण, उत्पादनलगायत क्षेत्रका अलावा ती क्षेत्रमा पनि रोजगारी खुला गरेको थियो । अहिले कयौं कामदारहरु ती क्षेत्रमा कार्यरत छन् ।
Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com