कुन दल कति समावेशी ?


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४

गुल्मीमा आफ्नो पकड क्षेत्रमा प्रमुख तीन दल एक्लाएक्लै चुनावी मैदानमा छन् भने जित्न गाह्रो हुने हिसाब निकालेका क्षेत्रमा तालमेल गरेका छन् । दलीय तालमेलले खुला पदमा दलित अगुवाहरूले कम अवसर पाएका छन् । केही दलित अगुवा यसलाई नयाँ संविधान कार्यान्वयनका लागि दलित समुदायले धैर्य गरेकाले अवसर अरूको भागमा परेको ठान्छन् भने केही दलहरूले प्राथमिकतामै नपारेको भन्दै असन्तुष्ट छन् ।
आरक्षित सिटबाहेक दुई नगर र १० गाउँपालिका (९३ वडा) रहेको गुल्मीमा कांग्रेसले प्रमुख पदमा दलितलाई उठाएको छैन । एमालेले ५ वडामा वडाध्यक्ष उठाएको छ भने माओवादीले रेसुंगाको नगर प्रमुख र ५ वटा वडामा वडाध्यक्ष उठाएको छ । यस्तै, जनजातिमा कांग्रेसले १६, एमालेले २७ र माओवादीले २१ जनालाई वडा तहका खुला पदमा उठाएका छन् । महिलातर्फ वडाध्यक्षमा कांग्रेसले २ र माओवादीले ४ जनालाई उठाएको छ भने एमालेले एक जना पनि उठाएको छैन । महिलालाई प्रमुख पदमा कांग्रेस र एमालेले २/२ र माओवादीले एक जनालाई उम्मेदवार बनाएको छ ।

‘दलित समुदायबाट योग्य नभएका होइनन् तर पार्टीहरूको जसरी पनि जित्ने होडमा आरक्षितबाहेक सिट दलितले पाएनन्,’ कांग्रेससम्बद्ध दलित संघका जिल्ला अध्यक्ष झवीन्द्र सुनारले भने, ‘हामीले पार्टीको जिल्ला र केन्द्रलाई पनि स्मरण गराएका हौं । उम्मेदवार छनोटमा पाखा लगाइएको अवस्था रह्यो ।’ यसको मूल कारण पार्टीको नियत नभई चुनावी रणनीति भएको दाबी उनको छ । ‘पाँच/पाँच वर्षमा चुनाव भएको भए पार्टीका सबैले पालो पाउँथे, मन दुखाउने ठाउँ हुन्थेन,’ उनले भने, ‘हामी यतिबेला कस–कसले किन पाएनन् भन्ने हिसाबभन्दा पनि आफ्नो पार्टीले उठाएका उम्मेदवार जोसुकै होस्, उसले जित्नुपर्छ भन्नेमा ध्यान केन्द्रित गर्ने अवस्थामा छौं ।’
एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण सुनारको भनाइ भने केही फरक छ । ‘अरू दलको कुरा गर्दिनँ तर एमालेमा सकेसम्म समेटेर लैजाने प्रयास भएको छ,’ उनले भने, ‘दुई दशकपछि चुनाव भएकाले आकांक्षी धेरै हुनु स्वाभाविक रह्यो, अनि हामीले दलितलाई लैजाऊ भन्नु कि सक्षम नेतृत्व छानौं भन्नु ।’ स्थानीय तहको नयाँ संरचनाअनुसार गाउँनगरको विकास, समृद्धिको अगुवाइ गर्ने नेतृत्व जिम्मा दिने सवाल समुदाय र जातभन्दा माथिल्लो स्तरको भएको उनले बताए । ‘हामी दलितलाई नेतृत्व देऊ त भन्छौं, तर सचेत समुदायका नाताले सक्षम नेतृत्व जुन समुदायको भए पनि स्वीकार गरौं भन्नुपर्छ ।’

संविधान कार्यान्वयनका क्रममा पछाडि परेका जातजातिलाई अवसर दिइनुपर्छ भन्नु न्यायिक भए पनि नेतृत्व गर्न सक्नेलाई मात्रै जिम्मेवारी दिइने कुरा स्वीकार गर्नुपर्ने उनले बताए । स्थानीय कृष्ण परियारको बुझाइमा दलितबाटै पनि नेतृत्व गर्न सक्नेले तल्लो तहका कार्यकर्तालाई जिम्मेवारीमा ल्याउन परिश्रम नगरेका हुन् । ‘मेरी श्रीमती दलित कोटाकी उम्मेदवार भएको नाताले घरदैलो गरिरहेको छु,’ उनले भने, ‘जिम्मेवारी दिए त हामी पनि केही गथ्र्यौं होला जस्तो लाग्छ ।’

रेसुंगा १० मा दलित महिला कोटामा कांग्रेसबाट उठेकी सरिता परियार भन्छिन्, ‘उम्मेदवारीका लागि नाम आउँदा म पहिलो पटकै छानिएकी । अरू कसैले म उठ्छु भनेनन् ।’ उनको अनुभवमा प्रतिनिधित्वका लागि आकांक्षीको संख्या नै न्यून भएकाले दलित उम्मेदवार कम देखिएका हुन् । सिमीचौरका गोपाल नेपाली अवसर नै नदिइएकाले दलितले नेतृत्व लिने हैसियत बनाउन नपाएको बताउँछन् । ‘हामी सबैको कुनै न कुनै पार्टीमा आस्था छ, भोट दिन्छौं,’ उनले भने, ‘तर, हामीलाई तिमीहरू पनि अघि आओ, यहाँको जिम्मेवारी तिमीहरूले लिनुपर्छ भनिँदैन । झिनामसिना जिम्मेवारी दिइन्छ । नेतृत्वको अभ्यासै हुन सकेन ।’

१ लाख ८० हजार ७ सय ७५ मतदाता रहेको गुल्मीमा यस पटकको स्थानीय तह निर्वाचनले ४ सय ८९ पदमा जनप्रतिनिधि छनोट भई आउनेछन् । २ लाख ८० हजार १ सय ६० जनसंख्या भएको जिल्लामा बाहुन–क्षत्रीको संख्या १ लाख ३४ हजार १ सय १९ छ । यसैगरी दलित ५७ हजार २ सय ३० र आदिवासी जनजाति ६३ हजार २ सय १६ छन् । संविधानसभाको पछिल्लो निर्वाचनमा यहाँको १ र २ नम्बर क्षेत्रबाट कांग्रेसका डा. कृष्ण छन्त्याल, चन्द्र भण्डारी र ३ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका हुन् । त्यसअघिको निर्वाचनमा १ र ३ बाट माओवादीका सुदर्शन बलाल, चन्द्रबहादुर थापा र २ मा एमालेका प्रदीप ज्ञवाली विजयी भएका थिए । आफ्नो निर्वाचन क्षेत्रभित्रका नगर र गाउँपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन भण्डारी, ज्ञवाली र विष्ट लागिपरेका छन् । आइतबार रेनपा १० सिमीचौरको चुनावी सभामा भेटिएका भण्डारीले भने, ‘स्थानीय तहको चुनाव खासमा पार्टीका नाममा लड्ने विषय नै होइन । तर, संसद्को विकास समितिमा मैले कुरा राख्दा कसैले सुनेनन् ।’ आफ्नो गाउँ/नगरका लागि काम गर्न सक्ने व्यक्तिलाई स्थानीय तहमा जिताउनुपर्ने भएकाले निर्वाचनलाई पार्टीले प्रतिष्ठाको विषय बनाउनु गलत रहेको उनले बताए । ‘उम्मेदवारहरू गाउँ, नगर र क्षेत्रले छनोट गरेकाले प्राथमिकताको आधार नाउँ, समुदाय नभई काम गर्न सक्ने क्षमतालाई हेरिएको छ,’ उनले भने, ‘विकासको दृष्टिले जिल्लाका सबै दलका हामी संसद्मा रहेका प्रतिनिधि त मिलेर काम गरेका छौं, त्यही अभ्यासले तलसम्म निरन्तरता पाउनुपर्छ ।’ निर्वाचित प्रतिनिधिको अभ्यासका आधारमा अर्को चुनावसम्ममा नेतृत्वमा आउन सक्ने अझ खारिने उनले बताए ।

गुल्मीबाट समानुपातिकतर्फ नेकपा मालेकी सांसद कमला विक नेतृत्वमा दलित र महिलालाई अवसर कम हुनुका पछाडि विभिन्न कारणले काम गरेको बताउँछिन् । ‘पहिलो त मलाई चाहिन्छ भन्न नजान्ने, दोस्रो पार्टीहरूले दिँदै नदिने चलन छ,’ उनले भनिन्, ‘स्थानीय तहको निर्वाचनअघि जिल्ला आएर मैले सबै पार्टीका महिला र दलितलाई नयाँ संरचनामा जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे छलफल चलाएको हुँ ।’ दलहरूमा लामो समयदेखि क्रियाशीलबीच आफैंमा अवसरको तानातान भइरहने भएकाले निकैपछि राजनीतिक चेतना सञ्चार भएका दलितसम्म अवसर आइपुग्न गाह्रो भएको उनको धारणा छ ।

‘राख्नैपर्छ भनेका ठाउँ मात्रै दलितलाई दिन पनि पार्टीहरूको मन गह्रौं भएको देखिन्छ,’ उनले भनिन्, ‘अब दलितले खुला पदमा प्रतिस्पर्धा गर्नुपर्ने बेला पनि आरक्षित सिट मात्रै हेरिबस्नुपर्ने अवस्था ठीक होइन ।’

पालो फेरि पुरानैलाई
तम्घास गाविस छँदा ०४९ र ०५४ मा अध्यक्ष जितेका पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठलाई कांग्रेसले यस पटक रेसुंगा नगरपालिका प्रमुख र उपप्रमुखमा अमृतादेवी कुँवरलाई उठाएको छ । श्रेष्ठसँग ०५४ मा गाविस अध्यक्ष पदमा पराजित एमालेका डिल्लीराज भुसाल यसपटक फेरि प्रमुख पदमै प्रतिस्पर्धी छन् । माओवादीले धर्म विश्वकर्मा र कमला पुनलाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएको छ । माओवादीले अघि सारेका दुवै अनुहार नगरपालिकाका लागि नयाँ हुन् ।

रेसुंगा १० मा सिमीचौर गाविसका पूर्वअध्यक्ष जयप्रकाश अर्याल कांग्रेसबाट वडाध्यक्ष उठेका छन् । रेनपा १३ मा पराल्मी गाविसका पूर्वउपाध्यक्ष देवबहादुर सोमै एमालेबाट वडा सदस्य उठेका छन् । नयाँगाउँ गाविसका पूर्वउपाध्यक्ष गनबहादुर गुरुङ यसपटक रेनपा ६ मा एमालेबाट वडाध्यक्ष उठेका छन् । छत्रकोट गाउँपालिकामा प्रमुखमा उठेका एमालेका मधुकृष्ण पन्थ २०५४ मा हर्दिनेटा गाविसका अध्यक्ष हुन् । चन्द्रकोट गाउँपालिकामा प्रमुख उठेका एमालेकै मिमलाल श्रेष्ठ शान्तिपुर गाविसका पूर्वअध्यक्ष हुन् । ०५४ मा दोहोली गाविसको अध्यक्षमा पराजित भएका एमालेका लक्ष्मण विष्ट यसपटक इस्मा गाउँपालिकाको अध्यक्षमा उठेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com