८४ घण्टापछि डेनाली हिमालबाट झिकियो सञ्जयको शव, मेडिकल परिक्षण हुँदै


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

अमेरिकाको डेनाली हिमालमा ज्यान गुमाएका चर्चित नेपाली अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको शव अलास्काको डेनाली हिमालबाट हेलिकप्टरमार्फत तल ल्याइएको छ । खराब मौसमका कारण हेलिकप्टर जान नसकेपछि घटनाको तीनदिनपछि आज सोमबार दिउसोमात्र शव उठाउन सम्भव भएको डेनाली नेशनल पार्कले जानकारी दिएको छ ।

नेशनल पार्क सर्भिसकी माउरेन ग्वाल्टेरीले आज दिउसो हेलिकप्टरमार्फत सञ्जय पण्डितको शव ल्याइएको र मेडिकल परिक्षणका लागि लगिएको जानकारी दिएकी छिन् । माउरेन ग्वाल्टेरीले खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै भनिन् – “घटना भएको झण्डै ८४ घण्टापछि हेलिकप्टरमार्फत घटनास्थलबाट सञ्जय पण्डितको शव ल्याइएको छ । अहिले उनको शव मेडिकल परिक्षणका क्रममा छ ।”

अहिलेसम्म कुन कारणले गर्दा उनको मृत्यु भएको हो खुल्न नसकेको र परिक्षणपछिमात्र थाहा हुने उनले खसोखासलाई बताइन् । सञ्जय पण्डितसँगै रहेका अरु दुईजना नेपाली आरोहीहरु सकुशल रहेको र उनीहरु पनि डेनाली हिमालबाट बाहिर आइसकेको उनले जानकारी दिइन् ।

माउरेन ग्वाल्टेरीले भनिन् – “सञ्जयसँगै हिमाल आरोहणमा रहेका अरु दुईजना नेपालीहरु सकुशल नै छन् । उनीहरुपनि हिमालबाट तल सुरक्षित स्थानमा आइसकेका छन् ।”
प्युठान घर भएका सञ्जय पण्डितको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान १ बजे डेनाली हिमालको १७ हजार ५ सय फिटको उचाईमा वेष्ट बट्रेसमा २८ बर्षका सञ्जयको मृत्यु भएको थियो । मृत्यु भइसकेपछि शवलाई झण्डै तीनसय फिट तलसम्म ल्याइएको थियो । हेलिकप्टरले १७ हजार २ सय फिटबाट शव ल्याएको हो ।

सञ्जयले अरु दुई जना नेपाली आरोहीसँगै तल झर्दै गर्दा ज्यान गुमाएका हुन् । सञ्जय बेहोस भइसकेपछि दुईजना स्वयम्सेवीहरु घटनास्थलमा पुगेका थिए तर त्यतीबेदासम्म उनको मृत्यु भइसकेको थियो ।

दुईबर्ष अगाडि डेनाली हिमाल आरोहणको प्रयास गर्दा सञ्जय घाइते भएका थिए । उनलाई जापानी र अमेरिकन आरोहीहरुले क्याप १ बाट तत्काल उद्दार गरेका थिए । एनआरएन अमेरिका र नेपाली जनसम्पर्क समिति अमेरिकाको स्पोन्सरमा त्यतीबेला उनले डेनाली आरोहणको प्रयास गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com