‘लालपुर्जा कहिले पाउँछौं ?’


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

असार ५, २०७४

शीतगंगा नगरपालिका–१४ सिमलपानीको विक्रमसोतामा १ सय ५५ घर छन् । पहाडको फेदीको यो बस्ती जंगलको घेराबन्दीमा छ । जंगली जनावर, वर्षामा बाढी र पहिरोको त्रास यहाँ उस्तै छ ।
एक परिवारसँग कम्तीमा ७ कट्ठादेखि ३० कट्ठासम्म जग्गा छ । तर, लालपुर्जा कसैको छैन । एक कट्ठा जग्गा ४ लाख रुपैयाँमा बिक्री भइरहेको छ । ७७ वर्षीय हुटबहादुर पल्ली सुर्वणखालबाट बसाइँ सराइ गरी २५ वर्षअघि विक्रमसोता आउँदा ५ घर मात्रै थिए । उनलाई राजनीतिप्रति त्यति चासो छैन । ‘एउटै चिन्ता छ, जग्गाको लालपुर्जा’, उनले भने, ‘जतिबेला चुनाव आउँछ, तबमात्रै नेता नमस्कार गर्दै भोट माग्न आउँछन् । भोट दिनुस् तपाईंको पुर्जा बनाइदिन्छौं, भन्छन् । जितेपछि आउँदैनन् ।’ चुनावताका उम्मेदवारलाई भोट तान्ने गतिलो माध्यम नै लालपुर्जा भएको छ ।
२०४७ सालदेखि पुर्जा नै चुनावी नारा बनिरहेको छ । ‘विक्रमसोतामा वर्षमा दुईपटक धान, मकै र गहुँको उब्जनी राम्रो हुन्छ,’ उनले भने, ‘जंगल भएकाले घाँस–दाउराको दु:ख छैन । गाई–बाख्राको चरन क्षेत्र प्रशस्त छ । यही सुविधा देखेर यहाँ बसाइँ सराइ गरेको हुँ ।’ त्यतिबेला पुर्जा नापी आएपछि बन्छ भनेर जग्गा किनेको तर अहिलेसम्म नपाएको उनले बताए ।
ज्ञानबहादुर रास्कोटीलाई पुराना नेताका कुरा पत्यार लाग्दैन । नयाँ अनुहारका उम्मेदवारलाई भोट दिए पुर्जा बनाइदेलान् भन्ने आशा छ । असार १४ गते हुने स्थानीय तहको चुनावमा उम्मेदवारले घर–घरमा पुगेर भोट दिनुस्, जितेपछि ६ महिनाभित्रै पुर्जा बनाइदिन्छौं, ढुक्क हुनुस् भन्दै आश्वासन दिएको उनले बताए । स्थानीय सरस्वती बञ्जाडेले पुर्जा नभएको जग्गा खाली गर्नुपर्ने हो कि भनेर चिन्ता लागिरहने बताइन् ।
‘बसिरहेको झुपडी नभत्कियोस्, केटाकेटी सजिलै विद्यालय जान पाऊन्’, यतिबेला उम्मेदवारसँग उनीहरूको माग रहेको सुनाइन् । गाउँमा रहेको गंगाखोलामा पुल बनाउनुपर्ने स्थानीयको माग छ । कक्षा ५ मा पढ्ने उनका छोरा नवीनले भने, ‘वर्षाको बेला खोला तर्न सकिँदैन ।’
मुन्द्रेवासका टुकनारायण जैसीको सात कट्ठा जग्गा छ । ‘रोग लागेर उपचार गर्दा पैसा नभएपछि जग्गा बेचेर भए पनि ज्यान बचाउनुपर्छ,’ उनले भने, ‘पुर्जा नभएपछि जग्गा बिक्री हुँदैन । उपचार गर्ने खर्च नभएर अकालमै ज्यान गुमाउनुपर्ने हुन सक्छ ।’ अन्न उब्जनी राम्रो, जल, जंगल र जडीबुटी प्रशस्त भएकाले खेतीकिसानी गर्न सहज देखेर बसाइँ सरेको उनले बताए । ढालबहादुर दर्लामीले भने, ‘स्थानीय तहको चुनाव भएकाले गाउँठाउँका चिनेजानेका उम्मेदवार छन् । पुर्जा बन्छ कि भन्ने विश्वास लागेको छ ।’ विक्रमसोतामा कांग्रेसबाट मेयरका उम्मेदवार सूर्य अधिकारी, उपमेयर मीना पौडेल र एमालेका मेयर उम्मेदवार वसन्तकुमार श्रेष्ठ र उपमेयर गीता भाट तीन–तीन पटकसम्म पुगे । दुवै पार्टीका उम्मेदवारले मीठो बोलेर मत तान्न कसरत गरिरहेको उनले बताए ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com