गोलाबाट जडीबुटी फेरि चीनतिर


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

असार ५, २०७४- फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलाबाट चिराइतोलगायतका जडीबुटी फेरि चीनतर्फ निर्यात हुने भएको छ । तिब्बतसँग सडक जोडिने भएपछि ढुवानीमा सहजता हुने भएकाले चीन लाने व्यापारिक प्रयोजनका वस्तु ओलाङचुङगोलामा गोदाम गर्न थालिएका छन् ।

यसअघि तिब्बतसम्म जडीबुटी पुर्‍याउन हेलिकप्टर चार्टर गरी लैजाने गरिन्थ्यो । अघिल्लो वर्ष ढुवानीकै समस्याले यहाँका जडीबुटी भारततिर लैजान थालिएको थियो । यसपालि भने सदरमुकाम फुङलिङबाट भारत लान तयार पारिएका चिराइतोसमेत चीनमा निकासी गर्न ओलाङचुङगोला पुर्‍याउन थालिएको छ । गोलामा लगेर गोदाम गर्ने र सडकले जोडिएपछि गाडीमा लैजान लागिएको व्यापारी दावा शेर्पाले बताए । हालसम्म दावा र ग्याजु शेर्पाले लेलेपमा गोदाम गरेको चिराइतो गोला ओसार्न थालिसकेका छन् । लेलेपका ग्याबु शेर्पा र अन्य व्यापारीले स्थानीय तहको निर्वाचनपछि ओसार्ने तयारीमा छन् ।

नेपालबाट चिराइतो, मजिठो, सतुवा, कुटी, बिख्मालगायतका जडीबुटी चीनतर्फ पठाउने गरिएको छ । अघिल्लो वर्षसम्म यहाँका व्यापारीले हेलिकप्टर चार्टर गरेर पनि लगेका थिए । ताप्लेजुङबाट संखुवासभा पुर्‍याएर त्यहाँबाट हेलिकप्टर चार्टर गरी थुदाम हुँदै तिब्बतको रिउ पुर्‍याइएको थियो । हाल ताप्लेजुङ सदरमुकामदेखि तापेथोकसम्म गाडीमा ल्याउन सकिने र त्यहाँबाट ओलाङचुङगोलासम्म मात्रै मान्छेलाई ढुवानी गराउनुपर्ने भएकाले तिब्बत पठाउन लागेको दावाले बताए । ढुवानी समस्याकै कारण व्यापारीले कम मूल्यमा चिराइतो भारत निर्यात गर्थे ।

व्यापारी सविन बानियाँका अनुसार ओलाङचुङगोलाबाट तिब्बतसम्म चौरीलाई बोकाएर लान समस्या थियो । तीन दिनमा मात्रै पुग्ने, बाटामा सामान झारेर राख्नुपर्ने र भिज्ने भएकाले ढुवानी कठिन भएको थियो । अब गाडीबाट सामान झारेर एक दिनमा लेलेपको इलाडाँडा र दोस्रो दिन ओलाङचुङगोला पुर्‍याउन सकिन्छ । गुणस्तर नबिग्रने भएकाले हेलिकप्टर चार्टर गर्न छाडेको व्यापारी बताउँछन् । नेपाल सिमाना नजिकै तिब्बतको रिउ बजारमा पुर्‍याए हाल टनको ५५ हजार रुपैयाँ पाइन्छ । भारतको सिलगुडीमा २८ हजार रुपैयाँ मात्रै मूल्य छ ।

‘तिब्बतमा केही मूल्य बढ्ने सम्भावना छ, त्यसैले उता पुर्‍याइएको हो,’ ग्याजुले भने । तापेथोकको गाडी बाटोबाट झारेर ओलाङचुङगोला पुर्‍याउँदा प्रतिकिलो ८० रुपैयाँ ढुवानी लाग्छ । भारत लैजाँदा बाटोमा ठाउँठाउँमा हुने जाँच, झन्झटजस्ता कारण पनि व्यापारी तिब्बत लान रुचाउँछन् ।

नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङदेखि ओलाङचुङगोलाको बस्तीतर्फ सडक निर्माणको काम भइरहेको छ । हालसम्म सिमानादेखि ११ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने अब १० किलोमिटर मात्रै निर्माणको काम बाँकी छ ।

ओलाङचुङ समाज कल्याण परिवार बालुङ (किटुक) काठमाडौं र बालुङ किटुक नर्थ अमेरिकाको सहयोग तथा गाविस र सांसद विकास कोषको रकमले सडक निर्माणको काम भइरहेको हो । साउन दोस्रो साता यहाँ सडक पुर्‍याउने दाबी गोलावासीको छ । सडकले जोडिएसँगै अधिकांश जडीबुटी यही बाटो भएर तिब्बत जाने गोलावासीको दाबी छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com