अर्घाखाँचीका ४ स्थानीय तहमा काँग्रेस र माओवादीबीच तालमेल


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

सन्धिखर्क, ४ असार । दोस्रो चरणमा स्थानीय तहको निर्वाचनका लागि अर्घाखाँचीका चार स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने भएको छ ।

सन्धिखर्क र शितगङ्गा नगरपालिकामा प्रमुख काँग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ । भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसलाई सघाउने सहमति भएअनुसार उम्मेदवारी दर्ता हुँदैछ ।

अर्घाखाँचीमा जनसङ्ख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा काँग्रेसबाट प्रमुखमा कमलप्रसाद भुसाल र उपप्रमुखमा माओवादीबाट ठाकुर विकलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एमालेले प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा ईश्वरा पोख्रेललाई उम्मेदवार बनाएको छ । नयाँ शक्तिले प्रमुखमा यमुना भुसाल र उपप्रमुखमा टोपबहादुर बराल, राष्ट्रिय जनमोर्चाले प्रमुखमा कल्पना पोख्रेल र उपप्रमुखमा पशुपति ढकाललाइ उम्मेदवार बनाएको छ ।

शितगङ्गा नगरपालिकामा काँग्रेसबाट प्रमुखमा सूर्य अधिकारी, उपप्रमुखमा माओवादी केन्द्रबाट टीका रेश्मीलाई उठाउने सहमति भएको छ । एमालेबाट प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाटले उम्मेदवारी दर्ता गर्दैछन् ।

भूमिकास्थान नगरपालिकामा प्रमुखमा माओवादीबाट रेशम थापा र उपप्रमुखमा काँग्रेसबाट खडानन्द बेल्वासेले उम्मेदवारी दर्ता गर्दैछन् । एमालेबाट प्रमुखमा पीताम्बर भुसाल र उपप्रमुखमा सुनिता बेल्वासे उठ्ने एमालेले निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा कविराम खनाल र उपप्रमुखमा शकुन्तला थापा उम्मेदवार बनेका छन् । नयाँ शक्तिबाट प्रेम बन्जाडे प्रमुखको उम्मेदवार बनेका छन् ।

मालारानी गाउँपालिकामा प्रमुखमा माओवादीबाट पद्म क्षेत्री र उपप्रमुखमा एमालेबाट शान्ता खनालले उम्मेदवारी दर्ता गर्दैछन् । एमालेबाट प्रमुख बालकृष्ण आचार्य र उपप्रमुखमा प्रमिला क्षेत्री उम्मेदवार बन्ने निर्णय भएको छ ।

पाणिनी गाउँपालिकामा काँग्रेसबाट अच्युत गौतम र उपप्रमुखमा अम्विका पोख्रेल, एमालेबाट प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी गौतम उठ्ने निर्णय भएको छ । माओवादीबाट प्रमुख जाकिर हुसैन र उपप्रमुखमा विमला घिमिरे उठ्दै छन् ।

छत्रदेव गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा लेखनाथ पोख्रेल, उपप्रमुखमा तुलसादेवी श्रेष्ठ, एमालेबाट प्रमुखमा ऋषि अधिकारी र उपप्रमुख मनिषा पन्थी, माओवादीबाट प्रमुखमा प्रकाश ज्ञवाली र उपप्रमुखमा शारदा रायमाझी उठ्दै छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com