भक्तपुरको कार्पेट उद्योगमा भीषण आगलागी [फोटोफिचर]


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

असार ४, २०७४- भक्तपुर नगरपालिका २, इटापाको सल्लाघारीस्थित यति कार्पेट उद्योगको भीषण आगलागी करिब आठ घण्टापछि निभाइएको छ । शनिबार राति करिब साढे ११ बजे उद्योगसँगैको ट्रान्सफर्मर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योगमा आगलागी भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईंका अनुसार जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आइतबार बिहान साढे ७ बजे आगो नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि पानी ओसार्न स्थानीय रुपमा सञ्चालित ट्यांकर समेत प्रयोग गरिएको थियो ।

आगलागीबाट दुई पक्की भवन, पाँचवटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको छ । आगलागीबाट पोली फाइबर, केमिकल, रङ्ग, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको यति कार्पेट उद्योगका म्यानेजर धमेन्द्र यादवले बताए । कार्पेट उद्योग पूर्णरुपमा नष्ट भएकाले क्षतिको यकीन विवरण आउन नसके पनि डेढ अर्बभन्दा बढीको क्षति भएको यादवले बताए । उक्त कार्पेट उद्योगमा एकसय भन्दा बढी कामदार रहेको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com