चुनाव सुरक्षा तयारी पूरा : गृह


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

असार ४, २०७४- गृह मन्त्रालयले तीनवटा प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको जनाएको छ । गृह प्रवक्ता दीपक काफ्लेले सबै मतदान केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर १ लाख ६३ हजार ८ सय २३ सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए । आइतबार तीन प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानिय तहमा मनोनयन हुँदै छ ।

प्रवक्ता काफ्लेले निर्वाचन अधिकृत कार्यालयको सुरक्षाको पूर्ण तयारी सकिएको र निरन्तर सुरक्षा जानकारी अपडेट हुन थालिसकेको बताए । स्रोतका अनुसार मधेसका जिल्लाहरूमा निर्वाचन अस्वीकार गरिरहेको राजनीतिक शक्तिहरूले विरोध गर्ने र मनोनयन दर्तामा अवरोध गराउन सक्ने सम्भावनालाई मध्यनजर गरेर थप सुरक्षाकर्मी पठाइएको छ । मन्त्रालयले निर्वाचन सुरक्षाका निम्ति पूरक सुरक्षा योजना नै तयार गरेको छ । पहिलो चरणको निर्वाचन सुरक्षा योजनामा भएका कमजोरी र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पूरक सुरक्षा योजना निर्माण गरिएको हो । गृहले सुरक्षा स्थितिको विश्लेषणका आधारमा केही जिल्लालाई संवेदनशील क्षेत्रका रूपमा हेरेको छ । सबै मतदान केन्द्रको छु्ट्टाछुट्टै सुरक्षा रणनीति तयार पारिसकेको छ । सामान्य, संवेदनशील र अति संवेदनशील भनेर छुट्याइएको मतदान केन्द्रमा त्यसैका आधारमा सुरक्षा रणनीति बनाइएको छ ।

प्रदेश २ को निर्वाचन सरेपछि गृहले उक्त प्रदेशमा खटिएका म्यादी प्रहरी र अन्य सुरक्षाकर्मीलाई निर्वाचन हुने प्रदेशमा सार्ने भएको छ । प्रवक्ता काफ्लेले एकै चरणको निर्वाचनका निम्ति भनेर ठूलो संख्यामा म्यादी र अन्य सुरक्षाकर्मी खटिने योजना बनाइएको बताउँदै भने, ‘निर्वाचन सुरक्षाका निम्ति पर्याप्त जनशक्ति तयार छ ।’ उनले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी सकिएको र निर्धक्क भएर चुनाव प्रक्रिया अगाडि बढाउन मन्त्रालय तयारी हालतमा रहेको बताए ।

त्यस्तै नेपाली सेनाका प्रवक्ता झंकर कडायतका अनुसार निर्वाचन सुरक्षा योजनाअनुसार सेनाले तोकिएको जिम्मेवारी बमोजिम दोस्रो चरणको निर्वाचनमा पनि सुरक्षा दिने बताए । उनले भने, ‘सेनाको तर्फबाट गर्नुपर्ने आवश्यक सम्पूर्ण तयारी भइसकेको छ ।’ कडायतले सबै निर्वाचन क्षेत्रमा सेना खटिसकेको जानकारीसमेत दिए । नेपाली सेनाले मतपत्र ओसार्ने र मतदान केन्द्रको बाहिरी घेराको सुरक्षा जिम्मेवारी सम्हाल्नेछ ।

म्यादीको म्याद थपिँदै 
तोकिएको समयमा राजनीतिक सहमति जुट्न नसकेपछि गृह मन्त्रालयले ५५ दिनको म्याद पाएका म्यादी प्रहरीको २० दिनको सेवा अवधि थपेको थियो । दोस्रो चरणको निर्वाचनअगावै असार ५ गते म्यादी प्रहरीको म्याद सकिने भए पनि शनिबारसम्म गृहले म्याद थपेको छैन । प्रवक्ता काफ्लेले करिब ७२ हजार म्यादी प्रहरीको म्याद थप्नेबारे गृहकार्य भइरहेको जानकारी दिए ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com