अण्डाबाट वार्षिक एक करोड २६ लाख


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

असार ४, २०७४- अडगुरी अमिलेखोलाका अण्डा व्यवसायीले अण्डाबाट वार्षिक रूपमा एक करोड २६ लाख रुपैयाँको कारोबार गर्छन् ।

स्थानीय तारादीपक न्यौपाने र पुनाराम भुसालले संयुक्त रूपमा सन्धिखर्क नगरपालिकाको तीनथुप्रेमा ३५ रोपनी खेत भाडामा लिएर उक्त व्यवसाय गर्दै आएका छन् । यी दुईलाई गाउँका सात जना साथीभाइले साथ दिएका हुन् । आठ–आठ लाख सेयर उठाएर ९० लाखको रपैयाँ लगानीमा अण्डाका लागि कुखुरा पाल्न थालेपछि उनीहरूको वार्षिक आम्दानी बढेको हो ।

उनीहरूले सञ्चालन गरेको शिवालय पोल्टी फर्ममा अहिले ६ हजार कुखुरा छन । अझै ६ हजार कुखुरा थप्ने तयारीमा छन् । ‘कुखुरामा राम्रो भविष्य रहेछ,’ न्यौपानेले भने, ‘१४ वर्ष अरब बस्दाभन्दा चार वर्षमै यतै आनन्द आयो ।’ उनका अनुसार दैनिक ४५ सय अण्डा उत्पादन हुन्छ । अण्डा बिक्रीबाट दैनिक ४५ हजार रुपैयाँ भित्रिने गरेको न्योपानेले बताए । उनका अनुसार मासिक १३ लाख ५० हजार रुपैयाँ र वार्षिक एक करोड २६ लाख रुपैयाँको कारोबार भइरहेको छ । बाहिर जिल्लाका पनि अवलोकन गर्न आउँछन ।

शिवालय फर्म कृषि र पशु कार्यालयबाट पुरस्कृत भएको छ । राष्ट्रपति कृषि पुरस्कार र कृषि प्रदशनीमा प्रथम पुरस्कार पाएको छ । पशु चिकित्सक विष्णु पौडेलका अनुसार शिवालय पोल्ट्री फर्मलाई अनुदान, तालिम, प्राविधिक सर सल्लाह र कुखुराको नियमित हेरचाह भैरहेको छ । युवाको सक्रियताले चार वर्षमै जिल्लामै धेरै अण्डा उत्पादन गर्ने फर्म भएको उनले बताए ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com