प्रदेश नम्बर १, ५ र ७ मा आज उम्मेदवारी दर्ता

प्रकाशित मिति : असार ४, २०७४ आईतबार

असार ४, २०७४- प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आइतबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ । मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले सुरक्षाकर्मीले शान्ति सुरक्षा कायम गर्ने कुरामा आयोग विश्वस्त रहेको बताए । ‘उम्मेदवारी दर्ता सहज, सरल एवं सुरक्षित ढंगले गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन आवश्यक निर्देशन दिइसकिएको छ,’ पत्रकार सम्मेलनमा उनले भने ‘उम्मेदवारी मनोनयनमा अवरोध गर्ने, भडकाउनेजस्ता क्रियाकलापलाई सुरक्षाकर्मीले निरुत्साहित गर्नेछन् ।’ तराईका जिल्लामा राष्ट्रिय जनता पार्टीबाट र पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपा माओवादीलाई सुरक्षा निकायले सुरक्षा चुनौतिका रुपमा लिएका छन् ।

सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारेपछि तीनवटा प्रदेशमा असार १४ गते निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि बिना चुनावमा भाग लिन नसक्ने भन्दै आमहडताललगायतका आन्दोलन थालेपछि सरकारले प्रदेश नम्बर २ का ८ जिल्लाका स्थानीय तहको निर्वाचन सारेको हो । सरकारकै आग्रहमा आयोगले दोस्रो चरणका लागि असार २ गतेलाई तोकिएको उम्मेदवारी मनोनयनको कार्यक्रमलाई दुई दिन सारेको हो ।
आयोगका अनुसार दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधी चुनिने छन् । ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् । कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र छन् । र, सुरक्षाकर्मी बाहेक निर्वाचन सञ्चालनका लागि ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रदेश नम्बर १ मा  एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका सहित १ सय ९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन् ।

एउटै राजनीतिक दलले नगरपालिकाको प्रमुख/उपप्रमुख वा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष पदमा उम्मेदवारी दिंदा दुईमध्ये एउटा पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधान छ । दलबाट उम्मेदवार हुनेले सम्बन्धित दलको आधिकारिकपत्र समेत मनोयनसँगै पेस गर्नुपर्ने हुन्छ ।

पहिलो चरणमा बैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ गाउँपालिका र नगरपालिकामा निर्वाचन भएको थियो । भरतपुर महानगरपालिकाबाहेक सबैतिर जनप्रतिनिधी बहाल भइसकेका छन् । प्रमुख पदमा महिला उठाउनुपर्ने कानुनी प्रावधानले नगरपालिका प्रमुखमा ४, उपप्रमुखमा ८७, गाउँपालिकाको अध्यक्षमा ८ र उपाध्यक्षमा १ सय ६४ जना महिला निर्वाचित भइसकेका छन् ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकामा प्रमुख र उपप्रमुख, वडाध्यक्ष र प्रत्येक वडाबाट चार जना सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुने भएकाले प्रत्येक स्थानीय तहमा ७ पदमा उम्मेदवारी दर्ता हुनेछ । वडा सदस्यमा एकजना दलित महिलासहित २ महिलाका लागि सिट आरक्षित छ । उम्मेदवारी दर्ता गराउँदा महिला, दलित, अल्पसंख्यकका हकमा तोकिएको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोगले जनाएको छ ।

मनोनयनपत्र दर्ता गर्ने दिनसम्म २१ वर्ष पूरा भएको र उम्मेदवार हुन चाहेको सम्बन्धित वडा, गाउँ वा नगरको मतदाता नामावलीमा नाम भएको व्यक्तिले उम्मेदवारी दिन पाउनेछन् । उम्मेदवार मनोनयन पत्रमा सम्बन्धित ठाउँकै मतदाता रहेका एक जना प्रस्तावक र एकजना समर्थकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । पहिलो चरणमा २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ पदका लागि भएको निर्वाचनमा ४९ हजार ३ सय ३७ जनाको उम्मेदवारी परेको थियो ।

Source : Ekantipur

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com