राष्ट्रिय सडक सञ्जालमा जोडिँदै डोल्पा


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४- जाजरकोट–डोल्पा सडक निर्माणले तीव्रता पाएपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिन थालेको छ । अहिले त्रिपुरासुन्दरी ५, करवगाडसम्म सडकको ट्रयाक खुलेको छ । सडक निर्माणका क्रममा दैनिक ५ सयभन्दा बढी स्थानीयले रोजगारी पाएका छन् । सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले दुनैसम्म सडक जोड्न अब ८ किमि मात्र बाँकी छ ।

चीनसँग जोडिन दुनैबाट मरिम्लातर्फ ड्रिल्पले काम गरिरहेको छ । त्यस्तै मरिम्ला नाकाबाट दुनैतर्फ सडक जोड्ने गरी सडक विभागले काम गरिरहेको छ । दुनै–मरिम्ला सडकको १३० किमिमध्ये दुनैदेखि लसिक्यापसम्म २० किमि निर्माण भएको छ । मरिम्ला नाकादेखि धोसम्म ४० किमि सडक पनि निर्माण भएको स्थानीय विकास अधिकारी सागर मिश्रले बताए ।

जाजरकोट–डोल्पासम्मको ११८ मध्ये ८ किमि मात्र निर्माण गर्न बाँकी रहेको सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए । डोल्पा पुग्ने यो खण्डमा रुकुमको गोतामकोटसम्म यातायात सेवा सञ्चालन भएको छ ।

सदरमुकाम दुनैसम्म सडक जोडिनासाथ चीनतर्फको निर्माणले थप तीव्रता पाउनेछ । जिल्ला समन्वय समितिका अनुसार चीनसँग जोडिन करिब ३० किमि बाँकी छ । सेनाले करवगाडदेखि सदरमुकाम दुनैसम्मका कडा चट्टान र पहाड फोर्ने काम तीव्र गतिमा भइरहेको जनाएको छ । सेनाको सडक निर्माण कार्यदलका अनुसार करवगाडदेखि २२ कम्प्रेसर मेसिनले चट्टान र पहाडमा प्वाल पार्ने काम गरिरहेको हो ।

‘हाम्रो ध्यान जतिसक्दो चाँडो दुनैसम्म सडकको ट्रयाक खोल्नेतर्फ छ । यसका लागि हामीसँग भएको जनशक्ति, उपलब्ध मेसिन र स्थानीय मजदुर प्रयोग गरी सडक निर्माणलाई तीव्रता दिएका छौं,’ प्रमुख सेनानी पहाडीले भने, ‘यसका लागि ६ वटा सैनिक बेस क्याम्प राखिएको छ । दैनिक ५ सयभन्दा बढी स्थानीय मजदुरमार्फत निर्माणको काम धमाधम गरिरहेका छांै । स्थानीयस्तरमा रोजगारी सिर्जनासँगै सडक निर्माणको कामलाई तीव्रता दिएका हौं ।’

सडक निर्माण क्षेत्रमा रहेका कडा चट्टानका कारण केही ढिलाइ भएको उनले जनाए । अहिले डोल्पावासीलाई जिल्लाबाहिर जान रुकुम–डोल्पा सिमानाको त्रिवेणीमा पुगेर गाडी चढ्नुपर्ने बाध्यता छ । जाजरकोट–डोल्पा सडकको ३०, रुकुमको ३० किमि खण्ड र ४६ किमि खण्डमा दैनिक गाडी सञ्चालनमा छन् । डोल्पाको ४२ किमि दूरीमध्ये ३४ किमिमा ट्रयाक खुलिसकेको प्रमुख सेनानी पहाडीले बताए ।

उनका अनुसार खदाङसम्मको सडक निर्माण सकिएपछि सदरमुकाम दुनैको दूरी नजिकिँदै जानेछ । अर्को वर्षको दसैंभित्र त्रिपुरासुन्दरी नगरपालिकाको खदाङसम्म मोटरबाटो निर्माण सम्पन्न गरी जिप सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । खदाङदेखि दुनैसम्मको ८ किमि खण्डमा कडा चट्टान फोर्न थप १ वर्ष लाग्ने सेनाले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका प्रमुख ओमबहादुर बुढाले दुनैदेखि खदाङसम्म पैदल मार्ग खासै टाढा नभए पनि अर्को वर्षको दसैंसम्म जिप सञ्चालनमा ल्याइए धेरै राहत हुने बताए । जाजरकोट–दुनै सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी देश चीन–भारत जोड्ने सबभन्दा छोटो मार्ग यही हुने सांसद धनबहादुर बुढाले बताए । सरकारले भेरी करिडोरमा यो सडकलाई समेटेर भारत र चीनसँग जोड्ने योजना बनाएको छ । चीनको स्व:शासित क्षेत्र तिब्बतसँग जोडिएको मारिम्ला नाकाबाट तिन्जे, धो, लसिक्याप हुँदै डोल्पाको सदरमुकाम दुनै जोड्ने र दुनैबाट त्रिपुराकोट, खदाङ, त्रिवेणी, जाजरकोट, छिन्चु र नेपालगन्जबाट रुपैडिहा जोड्ने सरकारी योजना छ ।

सरकारी योजनाअनुसार भारतीय सीमा रुपैडिहा र तिब्बती सीमा मरिम्ला जोड्न सके दुवै मुलुकसँग व्यापारिक सम्बन्ध जोडिनेछ । दक्षिणको रुपैडिहादेखि उत्तरको मरिम्लासम्मको दूरी करिब साढे ४ सय किमि रहेको अनुमान छ । निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था नगरिँदा सबै सडकले तीव्रता पाउन नसकेको स्थानीय विकास अधिकारी मिश्रले बताए । मुडेचुला गाउँपालिका १ का लंकबहादुर रोकायाले बजेटको पर्याप्त व्यवस्था हुन नसके पनि नेपाली सेनाले तीव्र गतिमा सडक निर्माण गरिरहेकोमा खुसी व्यक्त गरे ।

‘डोल्पावासीका लागि सडक निर्माण सबैभन्दा ठूलो सपना हो । निर्माणसँगै डोल्पालाई समृद्ध बनाउन सहयोग पुग्नेछ,’ उनले भने, ‘डोल्पा सीमा त्रिवेणीसम्म गाडी सञ्चालन भएपछि बाहिरी जिल्ला आउजाउमा सजिलो छ । यहाँको स्थानीय उत्पादन बाहिर जान थालेको छ । खाद्यान्न र दैनिक उपभोग्य सामग्री सस्तिएको छ ।’

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com