राजपा कार्यकर्ता अन्योलमा


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४- सरकारले प्रदेश नम्बर ५ को निर्वाचन निर्धारित मितिमै गर्ने भएपछि यस भेगका राष्ट्रिय जनता पार्टी (राजपा) का नेता–कार्यकर्ता अन्योलमा परेका छन् । यसबारे पार्टीको केन्द्रीय निर्देशन पर्खिरहेका उनीहरू तराई–मधेसका ५ र २ नम्बर प्रदेशमा फरक–फरक निर्वाचन तिथि मान्य नभएको बताउँछन् । प्रदेश नम्बर ५ मा तय भइसकेको निर्वाचन मितिमा कुनै पनि हालतमा सहभागी हुन नसक्ने नेताहरूको दाबी छ । असार ४ गते आइतबार प्रदेश ५ मा उम्मेदवारी मनोनयन गर्ने निर्वाचन तालिका छ ।

‘हाम्रो माग संविधान संशोधन, आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूको रिहाइ र सीमांकन हो तर सरकारले यी माग सम्बोधन नगरी प्रदेश २ को निर्वाचन मात्र सार्‍यो,’ राजपा अध्यक्ष मण्डलका नेता विजय गुप्ताले भने, ‘माग एउटा छ, सरकारले अर्कोथरी निर्णय गरेर भुलाउने प्रयास गरेको छ ।

यो फेरि पनि हामीलाई निर्वाचनमा सहभागी नगराउने षड्यन्त्र हो ।’ सीमांकनकै विवाद लिएर दुईवटा प्रदेशमा थरूहट र मधेस आन्दोलन भएकामा पछिल्लो सरकारी निर्णयले त्यहाँका मधेसीलाई टुक्य्राउन खोजेको आरोप लगाउँदै उनले पूर्वका मधेसीको आवाज सरकारले सुन्ने तर पश्चिमका मधेसीलाई जबर्जस्ती कित्ताकाट गर्न खोजेको दाबी गरे ।
संविधान संशोधन, मधेसमा स्थानीय निकाय बढाउनुपर्ने, बन्दी रिहा र सीमांकन विवाद समाधान नभएसम्म निर्वाचनमा सहभागी नहुने राजपाका नेताहरूको तर्क छ । सरकारसँग विवादपछि निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका नेताहरू पनि समस्यामा छन् ।

‘सरकारसँग लडाइँका बीच समस्या समाधान हुने विश्वास थियो तर निर्वाचनको मुखमा आइपुग्दा पनि आन्दोलनमै लाग्नुपर्ने आवस्था छ,’ एक नेताले भने, ‘प्रदेश नम्बर ५ को हकमा सरकारले झन् गलत निर्णय गरेको छ । उम्मेदवारी दिने समय एक/दुई दिनमात्रै बाँकी छ । अब चाहेर पनि निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेन ।’

सरकारको पछिल्लो निर्णयपछि पनि राजपाले आन्दोलनलाई निरन्तरता दिएको छ । ‘हामी आन्दोलनमै छौं । माग पूरा नहुँदासम्म निर्वाचनमा सहभागी हुने प्रश्नै आउँदैन,’ राजपाका सहमहामन्त्री पशुपतिदयाल मिश्राले भने, ‘केन्द्रले गरेको सर्कुलरअनुसार आन्दोलनलाई निरन्तरता दिइरहेका छौं ।’ संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पार्टी भने उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारमा व्यस्त छन् । मधेसकेन्द्रित दलहरू नै निर्वाचनको पक्ष र विपक्षमा देखिएपछि यी दलप्रति सहानुभूति राख्ने मतदातासमेत अन्योलमा परेका छन् ।

राजपाका १४ पक्राउ
मोरङ– क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्ने राष्ट्रिय जनता पार्टी (राजपा) का १४ नेतालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । पार्टीका केन्द्रीय सचिव जगदीश अधिकारी, केन्द्रीय सदस्यहरू चन्द्रप्रसाद राजवंशी र राजीव केसी, जिल्ला संयोजक मो. कादिर, अध्यक्षद्वय राधे कामत र रमानन्द साह, जिल्ला सदस्य मुनि कर्ण, बीपी मण्डल, विजय दास, दानादेवी मण्डल, नीलमदेवी यादव र शारदानन्द दास पक्राउ परेका हुन् ।

पक्राउपछि राजपाका नेता–कार्यकर्ता प्रदेश नम्बर १ स्थित सुनसरी, मोरङ र झापाको पनि निर्वाचन सार्ने गरी आन्दोलनको तयारीमा जुटेका छन् । राजपा केन्द्रीय सदस्य भोगेन्द्र यादवले आफूहरू प्रदेश १ का तीनवटै जिल्लामा निर्वाचन सार्ने गरी आन्दोलन तयारीमा लागेको स्वीकारे । केन्द्रले प्रदेश १ केन्द्रित आन्दोलनलाई सशक्त पार्न निर्देशन दिएको उनले बताए ।

बसमा क्षति
सिरहा– राजपा कार्यकर्ताले शुक्रबार सिरहाको गोलबजारमा प्रहरी सवार बसमा ढुंगा हानि क्षति पुर्‍याएका छन् । ना४ख १४४० नम्बर बसमाथि पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार सडक खण्डमा ढुंगा प्रहार भएको हो । बसको अगाडि भागको सिसा फुटेको प्रहरीले जनाएको छ । बस तोडफोडमा संलग्न मोर्चाका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आमहडतालको चौथो दिन पनि सिरहामा यातायात साधन, शैक्षिक संस्था, कलकारखाना, बजार पसल बन्द रहे ।

‘आन्दोलन रोकिँदैन’
राजविराज– राजपाका केन्द्रीय नेताहरूले २ नम्बर प्रदेशमा चुनाव सार्दैमा आन्दोलन नरोकिने बताएका छन् । उनीहरूले चुनाव सार्नु आफूहरूको माग नरहेको प्रस्ट्याउँदै संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तह पुन:संरचनालगायत मागप्रति सरकार उदासीन रहेको आरोप लगाए ।
जनआन्दोलन चोकमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राजपा वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमारसिंह यादवले भने, ‘चुनाव हाम्रो सहमतिमा होइन, सरकारले आफूखुसी सारेको हो ।’

उनले राजपा चुनावबाट भागेको नभई माग पूरा भए जुनसुकै बेला भाग लिन तयार रहेको बताए । यादवले संघीय समाजवादी फोरम र त्यसका अध्यक्ष उपेन्द्र यादवलाई मधेसी जनतालाई गाली नगर्न आग्रह गर्दै भने, ‘को–कति पानीमा छ सबै थाहा छ, उपेन्द्र यादवको वास्तकिता हामीलाई थाहा छ, गालीगलौज नै गर्ने हो भने खुला ठाउँमा बसौं ।’

अर्का वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहले मधेसी जनतालाई पुरानो चस्माबाट हेर्ने शासकीय प्रवृत्ति हटाउन आग्रह गर्दै २ नम्बर प्रदेशमा चुनाव रोकिँदैमा आन्दोलन नरोकिने बताए । महासचिव मनीषकुमार सुमनले मधेसी जनतालाई विभाजित गर्न र राजपामा मनमुटाव बढाउन सरकारले चुनाव सार्ने नाटक गरेको आरोप लगाए । उनले कार्यकर्तालाई अब अन्य जिल्लामा गएर चुनाव बिथोल्ने गरी आन्दोलनमा सहभागी हुन आग्रह गरे ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com