खसोखास समाचार प्रभाव : ६ घण्टामा नै पिडितको रकम भुक्तानी


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

गणेश पाण्डेय/लिस्बोन पोर्तुगल

“सेवाग्राहीको लाखौ रुपैया लिएर बुद्ध रेमिटका संचालक फरार” शिर्षकमा खसोखासमा समाचार आएको ६ घण्टा नबित्दै पिडितहरुको रकम भुक्तानी भएको छ। बुद्ध रेमिट लिस्बोनका संचालक ईश्वर प्रसाद चौधरी आफैले खसोखासका सम्बाददातालाई रकम भुक्तानीको रसिद पठाएर जानकारी गरेका थिए।

बुद्ध रेमिटका संचालक चौधरीले कयौ सेवाग्राहीको रेमिट्यान्सको रकम महिनौदेखि भुक्तानी नगरी फरार भएका थिए। सेवाग्राहीको रकम नेपालमा भुक्तान नहुनु र संचालक चौधरी लामो समय सम्पर्कबिहिन भएपछि कयौ पिडितहरु आफ्नो कामबाट बिदा लिएर बुद्ध रेमिटको कार्यालय आएका थिए, तर बुद्ध रेमिटको कार्यालय भएको ठाउँ बन्दभई बिक्रि भईसकेको जानकारी पाएपछि सेवाग्राहीहरु आफ्नो पसिनाको कमाई डुब्नेभयो भनेर आत्तिएका थिए।


पोर्तुगलमा खेतीमा काम गरिरहेका मेघ गुरुङको मार्च २९ तारिकबाट भुक्तानी नभएको ९८० यूरो र उत्तम कुमार श्रेष्ठको १ लाख यूरो समाचार सम्प्रेषण भएको ६ घण्टाभित्र रेमिटका संचालक चौधरीले भुक्तानी गरिदिएका छन्। रेमिट्यान्स भुक्तानी गर्न बाँकी रहेका सेवाग्राहीहरुसंग संचालक चौधरीको कुरा भईसकेको र एक निश्चित अवाधिभित्र भुक्तानी गरिने कुरामा सम्झौता भएको खबर प्राप्त भएको छ।


बुद्ध रेमिटका संचालक चौधरीले पिडितहरुको होल्ड गरिएर राखिएको रेमित्यन्सको रकम भुक्तानी गरिदिएर इमान्दारिताको उदाहरण त प्रस्तुत गरे तर भुक्तानीको साथसाथै पिडित सेवाग्राही र पत्रकारलाई धारावाहिक रुपमा अश्लिल गालीगलौच र धाकधम्की दिईनै रहेका छन्। रेमिट्यान्सका सेवाग्राहीको रकम ३-३ महिनासम्म होल्ड गरी आफुले गरेको गल्ति स्वीकार गर्नुको साटो उल्टै सेवाग्राही र पत्रकारलाइ लाई गालीगलौच र ज्यानसम्मको धम्की दिईरहनु संचालक चौधरीको अर्को ठुलो महाभूल हुनेछ। सेवाग्राही को रेमित्यन्सको रकम ३ -३ महिनासम्म भुक्तानी नगरिदिनु र अरुलाई गालीगलौच गर्नु र धम्कि दिनु यहाको कानुनमा दण्डनीय अपराध हो। समयमा नै संयमित भएर बस्नु र आफ्नो भुल स्वीकार गर्नुमा नै सबैको भलाई देखिन्छ।

भविष्यमा यस्ता घटनाहरु नहुन र कोही पनि पिडित नहुन भन्नका लागि सेवाग्राहीले पनि आफ्नो पसिनाको कमाई नियमसंगत संचालन भएका भरपर्दो रेमिट्यान्स कम्पनी मार्फत मात्रै कारोबार गर्नु नै बुद्धिमानी हुनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com