१४ नेपाली बालकसँग यौन दुराचार गरेकामाथि अनुसन्धान गर्न फ्रान्स प्रहरी नेपालमा

प्रकाशित मिति : असार ३, २०७४ शनिबार

– नवराज मैनाली

पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो ।
फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपबारे अनुसन्धान गर्न फ्रान्सेली प्रहरीको टोली नेपाल आएको हो । करिब एक साता लामो अनुसन्धानपछि टोली गत साता स्वदेश फर्किएको छ । कुख्यात फ्रेन्च बालयौन दुराचारी फिलिप पटक–पटक नेपाल आएको खुलेपछि यहाँ उनको गतिविधि अध्ययन गर्न फ्रेन्च प्रहरी नेपाल आएको हो । अनुसन्धानका क्रममा उनले १४ जना बालकमाथि यौन दुव्र्यवहार गरेको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग मिलेर उनीहरूले अनुसन्धान गरेका हुन् । उनीहरूलाई साथी नामक संस्थाले अनुसन्धानमा सघाएको थियो । अनुसन्धानको क्रममा फिलिपबाट पीडित १४ जना बालकको पहिचान भएको छ । उनीहरूमध्ये अधिकांश सडकबालक छन् । सबै बालकमाथि भएका यौन दुव्र्यवहारका विवरण उनीहरूले लिएर गएका छन् । मुद्दालाई बलियो बनाउन उनीहरू नेपाल नै आएर अनुसन्धान गरेका हुन् ।

पारस्परिक कानुनी सहायता सम्झौताअनुसार आफूहरूले फिलिपबारे फ्रेन्च प्रहरीलाई सूचना दिएको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए । फ्रेन्च प्रहरीले पठाएको कानुनी सहायतासम्बन्धी सम्झौतामा कानुन मन्त्रालयले स्वीकृत गरेपछि उनीहरूलाई नेपालमा आएर अनुसन्धान गर्न अनुमति दिइएको हो । अनुसन्धानमा सिआइबीका अधिकारीहरूले सघाएका थिए ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार फिलिप समाजसेवीका रूपमा नेपाल आएर बसेका थिए । गरिब बालकलाई खाना र कपडा सहयोग गरेर उनले उनीहरूको यौनशोषण गरेको खुलेको छ । होटेलहरूमा लगेर उनले बालकहरूसँग अप्राकृतिक यौन गतिविधि गर्दथे । समाजसेवीको आवरणमा लामो समय बसेका उनी ‘सेता ब्वाँसो’ उपनामले चिनिन्थे । कतिपयले उनलाई फिलिप अंकल भन्थे ।

फ्रान्समा पनि धेरैजना बालकमाथि यौन दुराचारको आरोप लागेपछि उनी फरार भएका थिए । इन्टरपोलले उनीमाथि रेडकर्नर नोटिस जारी गरेको थियो । रेडकर्नर नोटिस जारी गरेको १० वर्षपछि उनी केही महिनाअघि पक्राउ परेका हुन् । नेपाल तथा कम्बोडियामा समेत उनले बालयौन दुराचार गरेको खुलेको छ ।

नेपालमा ०७० मा पारस्परिक कानुनी सहायता ऐन आएको हो । सोही ऐनअनुसार नेपाल प्रहरीले अनुसन्धानमा साझेदारी तथा सूचनाको आदानप्रदान गरेको हो । जसअनुसार नेपालले पनि कुनै देशसँग कुनै अपराधविशेषको अनुसन्धान गर्न पारस्परिक कानुनी सहायता लिएर सम्बन्धित देशमै गएर अनुसन्धान गर्न सक्दछ । यसले अन्तरदेशीय अपराध नियन्त्रणमा सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

नयाँ पत्रिकाबाट

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com