पेट्रोलियम पदार्थको मूल्य घट्यो


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

असार २, २०७४- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर डेढ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर सय रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७६ रुपैयाँमा बिक्री हुने निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ६९ पैसा, डिजेलमा प्रतिलिटर एकरुपैयाँ ४७ पैसा र मट्टीतेलमा प्रतिलिटर १७ रुपैयाँ ४५ पैसा नाफा रहनेछ । अहिले निगमले पाक्षिक ३८ करोड नाफा गरिरहेको छ ।

निगमले खाना पकाउने ग्यासको प्रतिलिटर १३ सय ७५ मूल्य कायम गरेको छ । यसमा उसलाई प्रतिसिलिण्डर करिब ४० रुपैयाँ नाफा रहन्छ ।

निगमले पुष महिनायता पहिलो पटक मूल्य समायोजन गरेको हो । निगमले २०७२ असोजदेखि पेट्रोलियम पदार्थको समायोजित मूल्य कायम गर्दै आएको थियो ।

प्रवक्ता पोखरेलले भारतीय आयल कर्पोरेशनबाटै पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जानकारी दिए ।
Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com