मनाङ जिप दुर्घटनाका मृतकको सनाखत


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

असार २, २०७४- हिमाली जिल्ला मनाङमा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु भएका दुवैको स्थायी ठेगाना खुलेको छ । प्रहरीले गरेको सनाखत अनुसार घटनास्थलमा लमजुङको साविक नाल्मा २, बाख्रेजगतका २२ वर्षीय गोपी लामा र रुकुमको काँक्री ९ का २५ वर्षीय विक्रम गुरुङको मृत्यु भएको हो । डीएसपी चित्रबहादुर गुरुङका अनुसार नेस्याङ गाउँपालिका १, पिसाङ नजिकै चोबिखोलामा ग१ज ६६०२ नं. को जिप दुर्घटना भएको थियो । घटनास्थलमै मृत्यु भएका गुरुङ उक्त सवारीको सहयोगी थिए । लमजुङ बाख्रेजगतका लामा उक्त सवारीकै सहयोगी भएर मनाङ घुम्न गएका थिए ।

इन्स्पेक्टर अर्जुन गहतराजका अनुसार एकजना विदेशी नागरिकसहित घाइते ४ जनालाई थप उपचारको लागि शुक्रबार बिहान काठमाडौं पठाइएको छ । ३ जनालाई हेलिकप्टर र एकजनालाई एम्बुलेन्समार्फत थप उपचारको लागि पठाइएको उनले बताए । मेक्सिकन नागरिक २५ वर्षीय पुरुष पुफिक वाई. एम. डेला क्रुज (PUFIK. Y. M. DELA CRUZ), नेस्याङ १, पिसाङका ४५ वर्षीय दावा लामा र सोलुखुम्बुका २७ वर्षीय नागेन्द्र तामाङलाई हेलि एभरेष्टमार्फत उपचारका लागि काठमाडौं पठाइएको हो । विदेशी र लामालाई पिसाङबाट र तामाङलाई सदरमुकाम चामेबाट उद्धार गरिएको हो । गोरखा काशीगाउँ ९ की २१ वर्षीया कान्छीमाया गुरुङलाई चामेबाट एम्बुलेन्समार्फत उपचारका लागि बेंसीसहरतर्फ पठाएको प्रहरीले जनाएको छ । घाइते ४ जना भने जिल्ला अस्पताल चामेमा उपचारपछि डिस्चार्ज भएका छन् । घाइते अधिकांश यार्चा खोजेर फर्कंदै गरेका टोली रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनापछि चालक लमजुङको भुलभुलेका आइतमान तामाङ फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम चामेबाट करिब १५ किलोमीटर उत्तरतर्फ पर्छ । केही घुमाउरो ठाउँमा दुर्घटना भएकाले तीव्रगति वा ब्रेकफेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com