Follow @khasokhasmag

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

काठमाडौं: सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो ।

मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ । सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए ।

“उपत्यका पूरैमा मोटरसाइकल हटाउँदा ठूलो समस्या हुने भएकाले हामीले चक्रपथ भित्रमात्र रोक लगाउने विषयमा सरोकारवालाहरूसँग छलफल थालेका छौं,” भट्टराईले भने, “यसले सहरको सुन्दरता बढाउनुका साथै प्रदूषण र दुर्घटना समेत कम गर्न मद्दत मिल्ने अपेक्षा छ ।”
मोटरसाइकल हटाइने कुराले आममानिसमा आवतजावत कसरी गर्ने भन्ने प्रश्न स्वभाविक रूपमा उठ्ने उनी बताउँछन् ।

“मोटरसाइकल हटाउने छलफलसँगै सार्वजनिक सवारीको सहज र सरल उपलब्धताको विषय पनि जोडदार रूपमा एकसाथ अघि बढाउँछौं,” उनले भने । बागमती अञ्चलमा मात्र करिब साढे ८ लाख मोटरसाइकल दर्ता भइसकेका छन् । तीमध्ये केही नचल्ने अवस्थामा रहेको र केही अन्य जिल्लामा रहँदा पनि उपत्यकाका तीन जिल्लामा दैनिक ५ लाख मोटरसाइकल र ३ लाख चारपांग्रे साना तथा ठूला सवारी आवतजावत हुने अनुमान ट्राफिक प्रहरीको छ ।

उपत्यकामा ४० लाखभन्दा बढी मानिसको बसोबास छ । सवारी संख्या र जनसंख्याको अनुपात हेर्दा पनि धेरै मानिस सार्वजनिक यातायातमै यात्रा गर्छन् भन्ने पुष्टि हुन्छ । “सार्वजनिक यातायातलाई व्यवस्थित र सहज उपलब्ध गराउने हो भने मोटरसाइल रिङरोडभित्र गुडाउन नपाउने नियम कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,” भट्टराईले भने ।

सरकारले काठमाडौं उपत्यका दिगो सहरी विकास आयोजनामार्फत उपत्यकाको रुट वर्गीकरण गर्दैछ । यसअनुसार उपत्यकामा प्राइमरी, सेकेन्डरी र टर्सरी रुट हुनेछन् । प्राइमरी रुटमा ४० सिटभन्दा ठूला, सेकेन्डरीमा २५ सिटभन्दा ठूला र टर्सरी रुटमा साना सार्वजनिक सवारी चलाउन पाइने नियम बनाइँदैछ । यसले पनि मोटरसाइकल हटाउने विषयको छलफललाई सहयोग पु¥याउने विश्वास सरकारी अधिकारीहरूको छ ।

“दैनिक १५ हजारभन्दा बढी सवारी दर्ता हुने र इन्धनबाट चल्ने सवारीमा अर्बौं लगानी भइरहेको भारतमा सन् २०३० देखि विद्युतीय सवारीमात्र चलाउन पाउने महत्वाकांक्षी योजना आएको छ भने नेपालमा रिङरोडभित्र मोटरसाइकल चलाउने नियम किन लागू गर्न सकिँदैन,” विभागका एक अधिकारी भन्छन्, “व्यापक छलफल गरेर अघि बढियो भने सबैले सहयोग र समर्थन गर्छन् ।”

त्यस्तै, विभागले न्युरोड र ठमेल क्षेत्रमा दिउँसो निश्चित समयमा कुनै पनि सवारी प्रवेशलाई रोक लगाउने विषयमा पनि ट्राफिक प्रहरीसँग छलफल गरिरहेको छ । कुन समयमा सवारी चलाउन नदिने र सवारी कहाँ र कसरी व्यवस्थित गर्ने भन्नेमा छिट्टै निष्कर्षमा पुगिने विभागले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com