इद्रावतीलाई नमूना गाउँपालिका बनाउने बंशलालको अठोट


प्रकाशित मिति : असार २, २०७४ शुक्रबार

इन्द्रावती गाउँपालिका अध्यक्षको चुनावमा अरु उम्मेदवार भन्दा बंशलाल तामाङ बढी चर्चामा रहे । माओवादीको गढ मानिएको त्यो क्षेत्रमा उनी चर्चामा मात्र रहेनन्, नेपाली कांग्रेसलाई जित दिलाउन सफल पनि भए ।

बंशलालको चर्चाको कारण थियो- अमेरिकी ग्रिनकार्ड ।

झण्डै १० वर्ष अमेरिका बसेर फर्किएका बंशलालसँग ‘अमेरिकी ग्रिनकार्ड छ’ भन्दै प्रतिस्पर्धीले प्रचार गरे । अहिले पनि धेरै नेपालीको सपनाको देश भनिने अमेरिकाको ग्रिनकार्ड भएको उम्मेदवार भनेपछि मतदाताको चासो पनि हुने नै भयो ।

तर, हराउन भनेर प्रतिस्पर्धीहरुले चलाएको प्रचार नै बंशलालका लागि ‘प्लस प्वाइन्ट’ बन्न पुग्यो ।

उनले भेटेका अधिकांश मतदाताले उनलाई सोध्थे, तपाई अमेरिका फर्किने हो कि के हो ?

‘अनि मैले म नफर्किने गरी आएको भन्थें,’ हालै भएको एक भेटमा बंशलालले आफ्नो चुनावी अनुभव साट्दै भने, ‘प्रतिपक्षीहरुसँग मलाई लगाउने अरु कुनै आरोप नै थिएन । अस्त्र एउटै थियो, कि बंशलाल अमेरिका बस्ने मान्छे आएर चुनाव लड्यो । तर, एक किसिमले फाइदा पनि भयो । अमेरिकाबाट आएको मान्छे कस्तो रहेछ भनेर हेर्न पनि आए ।’

रोचक त के रहेछ भने धेरै मतदाताले प्रश्न गरे पनि प्रतिस्पर्धीले भने उनलाई तपाईसँग ग्रिनकार्ड छ ? त्यागेर आएको कि नआएको ? भन्ने प्रश्न कहिल्यै गरेनन् ।

‘रे’ को भरमा बंशलालसँग अमेरिकी ग्रिनकार्ड छ  भनिदिए ।

त्यसबेला उनले भन्ने गर्थे, ‘तपाई जानु भएको भए अमेरिका छाडेर आउनु हुन्थ्यो कि हुन्थेन भन्न सक्दिनँ । तर, म त फर्किएर आएको छु । अनुभव लिएर आएको छु । केही सिकेर पनि आएको छ ।’

उनलाई लाग्छ, त्यही भएर पनि मतदाताले विश्वास गरे र इन्द्रवती गाउँपालिका अध्यक्ष बनाए । अब उनले विपक्षीले लगाएको आरोप मात्र होइन, अमेरिका फर्किन्नँ भन्ने आफ्नो बाचा व्यवहारबाट प्रमाणित गरेर देखाउन बाँकी छ ।

को हुन् बंशलाल ?

विद्यार्थी राजनीति हुँदै कांग्रेस सिन्धुपाल्चोकको नेतृत्वमा आएका वंशलाल जिल्ला सचिवसम्म भए ।

१६ वर्षको उमेरमा नै नेविसंघको विद्यालय इकाई अध्यक्ष भएका उनी ०४२ सालमा जेल परे । पार्टीले सत्याग्रह आयोजना गरेको थियो, उनी शक महिना जेल परेँ । नेविसंघको संगठन विस्तार गर्ने जिम्मा पाएका उनी ०४६ मा जिल्ला सभापति बने । ‘०४६ को आन्दोलनमा मेरो अत्यन्त सक्रिय सहभागिता थियो,’ उनले सुनाए ।

०५४ मा जिल्ला विकास समितिको सदस्यको चुनाव लडे । जितेर ५ वर्षे कार्यकाल पुरा गरे । त्यति बेलासम्म उनी सिन्धुपाल्चोक कांग्रेसको सचिव भइसकेका थिए ।

तर, माओवादी आन्दोलन उत्कर्षमा पुगेपछि आफूलाई भौतिक आक्रमणको धम्की आउन थालेको उनले सुनाए । ‘भौतिक आक्रमण गर्ने संकेतहरु पाएपछि केही समय सक्रिय राजनीतिबाट टाढा बस्नु पर्छ भनेर म ०६२ मा अमेरिका गएको हुँ,’ बंशलालले भने ।

अमेरिका पुगे पनि उनी कांग्रेसबाट टाढा भएनन् । जनसम्पर्क समितिको संस्थापक सदस्य भए । ‘त्यहाँ रहँदा पनि म पार्टीको काममा लागिरहेँ,’ उनले भने, ‘अमेरिका धेरै मान्छेको सपनाको देश हो । तर, मेरा लागि बाध्यता थियो र मैले कहिल्यै सपनाको सहरका रुपमा लिइनँ । काठमाडौं कहिले फर्किउँ भन्ने थियो । पार्टीको १३ औं महाधिवेशन मेरा लागि उपयुक्त बन्यो र फर्किएर आएँ ।’

नेपाल आएपछि सिन्धुपाल्चोकबाटै महाधिवेशन प्रतिनिधि बने । अहिले इन्द्रावती गाउँपालिकाको अध्यक्षको टिकट मात्र पाएनन्, पार्टीलाई जिताएर देखाएका छन् उनले ।

बंशलाल आफूले नेपाल आउने बेलामा नै अमेरिकाको ग्रिनकार्ड त्यागेर आएको दाबी गर्छन् । उनले भने, ‘नेपाल फर्किँदैछु भनेपछि ग्रिनकार्ड आवश्यक थिएन । त्यसैले त्यागेर आएँ ।’

समस्याको चाङ र बंशलालको सपना

इन्द्रावतीको समस्या सिन्धुपाल्चोकका अरु स्थानीय तह जस्तै भूकम्पपछिको पुनर्निर्माण हो ।

धेरै पीडितको नाम अझै पनि छुटेको छ र जनप्रतिनिधिहरुलाई भेटेर नाम समावेश गरिदिन भनेका छन् । उनले भने, ‘एउटा वडामा २२२ परिवारको नाम छुटेको भेटेको छु ।’

अर्को समस्या खानेपानीको छ । गाउँपालिकाको अधिकांश वडामा सडक त पुगेको छ तर, अस्तव्यस्त छ । जताततै डोजर चलाएर बनाइएका सडकको स्तरोन्नती गर्नु पर्नेछ ।

गाउँपालिकाको कार्यालय समेत व्यवस्थित छैन । ‘कार्यालयलाई मैले मुख्य विषय मानेको छैन । जनतालाई कसरी छिटो छरितो सेवा पुर्‍याउने भन्ने हाम्रो प्राथमिकतामा छ,’ इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले भने ।

स्थानीय तहमा धेरै अधिकार त दिइएको छ तर, स्रोत साधन आफैं जुटाउन पर्ने बाध्यता पनि छ ।

इद्रावतीलाई नमूना गाउँपालिका बनाउने आफ्नो अठोट रहेको गाउँपालिका अध्यक्ष बंशलालले भने । ‘भगिनी सिटीको अवधारणामार्फत युरोपमा विभिन्न सिटीसँग सम्वन्ध स्थापित गर्ने र विकासका काम अघि बढाउने सोच बनाएको छु,’ उनले भने ।

अनलाइनखबरबाट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com