चुनाव सारेर पनि चित्त बुझेन राजपाको, मधेसमा एकैपटक चुनाव गर्न माग


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

सरकार र राष्ट्रिय जनता पार्टीबीचको सहमति अनुशार प्रदेश नम्बर २ को असार १४ गतेको निर्वाचन सारेर असोज २ मा तेस्रो चरणमा गराउने सरकारले निर्णय गरेपनि राजपाले भने मधेसका सबै जिल्लामा एकैपटक चुनाव हुनुपर्ने माग राखेको छ ।

प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै निर्वाचन सम्पनन गर्ने सरकारी तयारी रहेपनि राजापाले यसप्रति पनि आपत्ति जनाएको छ । सिंहदरबारमा बसेको सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को निर्वाचन सार्ने सहमति भएको थियो ।

तर, निर्वाचन सारेपनि राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागीता जनाउने कुनै सुनिश्चित आधार प्रस्तुत गरेको छैन ।

बैठकपछि राजपाका नेता शरदसिंह भण्डारीले सरकारले आफुहरुका पुराना माग सम्बोधन गर्न तयार हुनुपर्ने बताएक छन् । भण्डारीले सरकारले निर्वाचन सार्ने निर्णपछि मात्रै आफुहरुको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

अध्यक्षमण्डलका नेताहरुले मधेसको माग पूरा नै नगरी २ नम्बर प्रदेशको चुनाव सार्ने र अन्य ३ प्रदेशमा चुनाव गराउने सरकारको निर्णय मान्य नहुने बताएका छन् ।

राजपादले सर्लाहीमा गरेको सभालाई सम्बोधन गर्दै राजपाका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादवले संयुक्त रुपमा मधेसको माग पूरा नभएसम्म राजपा चुनावमा नजाने बताए ।

देशलाई विभाजन गर्ने उद्देश्यले सरकारले गरेको निर्णय गरेको भन्दै राजपाका नेता राजेन्द्र महतोले आपत्ति जनाए ।

उनले मधेसलाई विभाजन गर्ने उद्देश्यले सरकारले निर्णय गरेको भन्दै चुनाव गराउन परे मधेसको सम्पूर्ण जिल्लामा एकैपटक चुनाव गराउनु पर्ने बताए ।

सरकारले गरेको निर्णयप्रति आपत्ति जनाउँदै राजपा अध्यक्षमण्डलका तीनै जना नेताहरु आन्तिरक बैठकका लागि काठमाडौं लागेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com