सेवाग्राहीको लाखौ रुपैया लिएर बुद्ध रेमिटका संचालक पोर्तुगलबाट फरार
प्रकाशित मिति : जेष्ठ ३१, २०७४ बुधबार
गणेश पाण्डेय, लिस्बोन, पोर्तुगल।
सेवाग्राहीको लाखौ रुपैया झ्वाम परेर बुद्ध रेमिट लिस्बोनका संचालक ईश्वर प्रसाद चौधरी फरार भएका छन्। चौधरी लामो समयदेखि रेमिट्यान्सको नाममा हुण्डी कारोबार गर्दै आएको खबर समेत प्राप्त भएको छ।
बुद्ध रेमिटका संचालक चौधरीले कयौ नेपाली श्रमिक सेवाग्राहीको रकम समयमा नै भुक्तानी नगर्ने र हप्तौसम्म झुलाएर राख्ने गुनासाहरु नियमित रुपमा आउने गरेका छन्। बिगत केहि हप्तादेखि चौधरीले आफ्नो कार्यालय बन्द समेत गरेका छन्। चौधरीले पोर्तुगलमा कामदारको लागि आवस्यक पर्ने कागजातहरु जस्तै “फिनान्स नम्बर ” लिने र “सोसियल सेगुरान्स ” को अबैध किनबेचमा समेत संलग्न रहेको बिशेष श्रोतबाट खुल्न आएको छ।
पोर्तुगलमा खेतीमा काम गरिरहेका मेघ गुरुङले बुद्ध रेमिटका संचालक चौधरीसँग सम्पर्क गरी नेपाल पैसा पठाउने दरभाउ सोधे। त्यसपछि गुरुङले मार्च २९ तारिक २ पटक छुट्टाछुट्टै भुक्तानी बुद्ध रेमिटका संचालक चौधरीको खातामा जम्मा गरे। पहिलो भुक्तानी ९७० यूरो थियो भने दोस्रो भुक्तानी सेवा शुल्क बाफत ९ यूरो ८० सेन्ट थियो। गुरुङले आफ्नो २ महिनाको पसिनाको कमाई नेपाल पठाउने सपना तब तुहियो, जब चौधरीले उनलाई नेपाल पैसा भोलि -पर्सि पठाईदिन्छु भन्दै हप्तौ झुलाए तर काम गरिदिएनन। यति मात्रै होइन, केही हप्तापछि चौधरी सम्पर्क बिहिन नै भए, जति फोन गर्दा पनि फोन नउठाउने वा सधै मोबाईल स्विच अफ हुन थाल्यो। अनि गुरुङले आफु ठगिएको थाहा पाए।
आफ्ना चिनजानका साथीभाई र आफ्नो सम्पर्कमा भएका सामाजिक संस्थाहरुसंग सहयोग माग्दा गुरुङले सहयोग पाएनन्। अन्ततः गुरुङ आम संचारलाई सहयोगको लागि गुहार्न पुगे। जब यो कुरा बुद्ध रेमिटका संचालक चौधरीले थाहा पाए, उनले पिडित भनिएका गुरुङलाई म्यासेज पठाएर धम्काउन थाले। कहिले ” तिम्रो पैसा अब पत्रकार, पुलिस र कन्सुलेटले दिन होइन ?” त कहिले ” पुलिस पठाएर उल्टै पीडितले हुण्डीको कारोबार गर्छ भनेर कारवाही गराउने अनि आफ्ना बिरुद्दमा लेख्ने पत्रकारका रामधुलाई गर्ने ” भन्दै म्यासेज पठाएर मानसिक तनाब दिन थाले।
गुरुङ मात्रै होइन, अरुपनि कयौ सेवाग्राहीहरुको नेपाल पठाउने पैसा महिनौसम्म नपठाएको गुनासो छ, तर चौधरीका धम्कीका कारण सबै बोल्न डराईरहेका छन्।
बुद्ध रेमिटका संचालक चौधरीले आफ्नो सामाजिक र राजनैतिक पहुच देखाउदै पिडित सेवाग्राहीहरुलाई धम्काउने गरेको आरोप समेत लगाएका छन् र तथानाम गाली गर्नु र अपशब्द बोलेर अभद्र व्यवहार गर्नु यिनको लागि सामान्य हो। उता नेपालमा मेघ गुरुङका परिवार आफन्तले पठाएको पैसा कहिले पाईएला भनेर कुरेर बसेको पनि अब ३ महिना हुनलागिसक्यो , यता पिडित गुरुङ भने आफ्नो पसिनाको कमाई फिर्ता पाईएला कि नपाईएला भनेर चिन्तित छन्। त्यसैगरी उत्तम कुमार श्रेष्ठको १ लाख लगेर २ दिनको भाका राखेका चौधरी २ महिना बितिसक्दा पनि सम्पर्कमा नआएको पिडित श्रेष्ठ बताउछन।
सेवाग्राहीहरुले पनि बुझेर मात्रै आफ्नो पसिनाको कमाई विश्वसनीय रेमिट्यान्स कम्पनी मार्फत कारोवार गर्दा काम सजिलै र समयमै हुने र झन्झटमुक्त हुने भएकोले समयै चनाखो हुनुपर्ने देखिन्छ।