राजपाले बुझाएन हस्ताक्षर


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

जेष्ठ ३०, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उम्मेदवारी मनोनयन प्रयोजनका लागि पार्टी पदाधिकारीको नाम र हस्ताक्षर विवरण निर्वाचन आयोगमा बुझाउने म्याद फेरि गुजारेको छ । आयोगले उक्त विवरण बुझाउन थपेको तीन दिनको म्याद सोमबार सकिएको हो । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले मधेस तराई फोरम र लोकदलले मात्रै निर्धारित तीन दिनको अवधिमा उम्मेदवारी मनोनयन प्रयोजनका लागि पदाधिकारीको नाम र हस्ताक्षर विवरण बुझाएको बताए ।
सरकारले राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो । तर जसका लागि संशोधन गरियो, त्यो दलले आयोगको सूचनालाई फेरि बेवास्ता गरेको छ । राजनीतिक दलबाट उम्मेदवार हुनेले दलको औपचारिक पत्र समेत मनोनयनसँगै पेस गर्नुपर्ने कानुनी प्रावधान छ । संशोधन हुनुअघि ऐनमा मनोनयन दर्ता भन्दा १५ दिन अगावै पदाधिकारीको नाम र हस्ताक्षर बुझाउनुपर्ने प्रावधान थियो । त्यसका लागि आयोगले चैत मसान्तसम्मको समय दिएर सूचना निकालेको थियो । आयोगले पहिलो चरणको निर्वाचनका लागि वैशाख १९ को मनोनयनको दिनभन्दा अगाडि हस्ताक्षर बुझाउन ३ दिन समय थपेको थियो । तर त्यस अवधिमा राजपामा आबद्ध ६ मधेसवादी दलमध्ये कुनैले उक्त विवरण नबुझाएपछि कानुनी जटिलता आएको थियो ।
ऐनको दफा १८ मा रहेको ‘१५ दिन अगावै’ भन्ने वाक्यको स्थानमा संशोधन गरी ‘आयोगले तोकेअनुसार’ को प्रावधान राखियो । संशोधनपछि आयोगले हस्ताक्षर नमुना बुझाउन जेठ २७ देखि २९ सम्मको समय दिएको थियो । तर जसलाई लक्षित गरी कानुन संशोधन र थप समय दियो, त्यही राजपाले आयोगको सूचनालाई बेवास्ता गर्‍यो । राजपाका महासचिव केशव झाले मुद्दाको सम्बोधन नभएसम्म आफूहरू चुनावमा नजाने भएकाले चुनावी प्रक्रियामा सहभागिताका लागि निकालिएको सूचनाको कुनै अर्थ नरहेको बताए । ‘हामी आन्दोलनमा गइसकेका छौं, संविधान संशोधन, स्थानीय तहको संख्या थप जस्ता राजनीतिक मुद्दाको सम्बोधनपछि मात्रै चुनावको कुरा हुन्छ,’ उनले भने, ‘राजनीतिक स्तरमा सहमतिपछि मात्रै चुनावसँग सम्बन्धित प्राविधिक पक्षमा ध्यान दिने हो ।’

अध्यक्षहरू जिल्ला जाने
राजपा अध्यक्षमण्डलको सोमबार बसेको बैठकले घोषित आन्दोलनलाई सशक्त बनाउने निर्णय गर्दै त्यसका लागि अध्यक्षहरू जिल्ला जाने निर्णय गरेको छ । महासचिव झाले भने, ‘सम्भवत: भोलि (मंगलबार) नै ६ जना अध्यक्षहरू तराईका विभिन्न जिल्ला पुग्नु हुनेछ । अन्य पदाधिकारीलाई पनि आफ्नो गृहजिल्ला जान भनिएको छ ।’ राजपाले आन्दोलन परिचालन समितिसमेत बनाउने निर्णय गरेको छ । तर, त्यसमा रहने व्यक्तिहरूको नाम टुंग्याउन बाँकी रहेको झाले बताए ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७४ लाई सोमबार प्रमाणीकरण गरेकी छन् । निर्वाचन घोषणापछि एकीकरण भएका दललाई साबिकका कुनै दलले प्रयोग गरेको चुनाव चिह्न प्रयोग गर्न बाटो खुलाउने गरी उक्त विधेयकलाई आइतबार संसद्ले संशोधन गरेको थियो । राष्ट्रपति भण्डारीबाट प्रमाणित भएपछि उक्त विधेयक कानुनको रूपमा लागू हुनेछ ।

देउवा र दाहालले मनाउने प्रयास जारी राख्ने
काठमाडौं (कास)– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी (राजपा) लाई स्थानीय तहको चुनावमा सहभागी गराउन संवाद र पहल जारी राख्ने भएका छन् । दुई नेताबीच सोमबार भएको भेटवार्तामा राजपालाई मनाउन पहल जारी राख्ने सहमति भएको हो । दाहाल निवासमा भएको भेटमा मन्त्रिमण्डल विस्तार, स्थानीय तहको चुनावसहित विषयमा छलफल भएको थियो । दुई नेताबीच निर्धारित मिति असार १४ गते नै दोस्रो चरणको चुनाव गर्ने सम्बन्धमा छलफल भएको थियो । देउवा निकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तार भने तत्काल नगर्ने दुई नेताबीच समझदारी छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com