आयोगले भन्यो ‘टिसर्ट, टोपी र झोला वितरण आचारसंहिता विपरीत’
प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

जेष्ठ २७, २०७४- निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोलालगायतका सामग्री वितरण नगर्न दलहरूलाई सचेत गराएको छ । आयोगले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै राजनीतिक दल तथा उम्मेदवारलाई त्यस्ता सामग्री वितरण नगर्न/नगराउन भनेको हो ।
आचारसंहिता हेर्ने निर्वाचन आयुक्त सधीरकुमार शाहको अध्यक्षतामा बसेको बैठकले त्यस्ता कार्यलाई रोक्नका लागि समेत प्रमुख जिल्ला अधिकारी, प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षाकर्मीसहितका अधिकारीहरूलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आचारसंहिता विपरीता प्रचार प्रसारमा टिसर्ट, टोपीलगायतका सामग्री प्रयोग गरेको पाइएकाले त्यस्तो कार्य हुन नदिन सचेत गराइएको बताए ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन गर्ने टोलीलाई आचारसंहिता विपरीतका कार्य रोक्न निर्देशन पठाइएको उनले बताए ।
Source : Ekantipur