कतारमा नाकाबन्दी- कतारको बजारमा टर्कीको दूध-दही


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

जेष्ठ २७, २०७४- कतारले टर्कीबाट बजारमा माग अनुसार दूध, मोही र दही आपुर्ति गरेको छ । साउदी अरवमा पूर्ण निर्भर दूध-दहीको बजार टर्कीबाट पुरा गरेको हो ।

साउदी अरवले गत सोमबार बिहानदेखि कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदसँगै सीमा नाका बन्द गरेको थियो । ‘सबैभन्दा पहिलो चिन्ता नै दूध-दही कसरी पाइन्छ भन्ने चिन्ता थियो । यो एकदिन पनि अभाव हुन पाएन,’ झापाका माहुमद कार्कीले फोनमा भने,‘पहिले भन्दा झन सस्तोमा दूध किन्न पाएका छौं ।’

बजारमा यी दूध प्रतिलिटर ५ रियालमा पाउने ब्यवस्था मिलाएको छ । सुपरमार्केटमा कार्यरत नेपाली कामदारहरुका अनुसार बजारमा  दूधको कुनै अभाव हुन दिइएको छैन । ‘वजारमा नयाँ नयाँ ब्रान्डका खाद्यान्यहरु आउन थालेको छ,’ फ्यामेली फुड सेन्टरको म्यानेजर पदमा कार्यरत एक नेपालीलाई कान्तिपुरलाई भने,‘यी दूधहरु गुणस्तर छन् । ग्राहकले चाहे जति हामीले बिक्री गरिरहेका छौं ।’

दूधसँगै चिकेन, अण्डा, माछा र हरियोसाग सब्जीको आपुर्ति बढाइरहेको उनको अनुभव छ । ‘बजारमा प्रशस्त अन्डा आइरहेको छ । खाद्यान्यको सामान पनि उपलब्ध छ । खाद्यान्य संकटमा हुन नदिन हाम्रो कम्पनी पनि सचेत छ,’ उनले भने,‘हाम्रो व्यवस्थापक टिम उत्साहित भएर काम गरिरहेका छौं ।’

कतार सरकारले निकै गम्भिर ढंगले लागेको आफुले महसुस गरेको उनले वताए । ‘हामीले माछाहरु ओमनवाट पनि ल्याउन थालिसकेका छौ,’ उनले भने,‘यहाँ आउने धेरै नेपाली कामदार चाहिने खाद्यान्य सहज रुपमा पाउदा खुसी भएर फर्केका छन् ।’

हरियो सागसब्जीको पनि अभाव हुन दिइएको छैन । ‘बिहानै सब्जी मार्केटमा गएको थिएँ । पहिला जस्तो चहलपहल थियो । अहिलेपनि त्यस्तै छ,’ चितवनका दिपक भेटवालले भने,‘ताजा सागपात, आलु, टमाटारहरु प्रसस्त देखियो ।’

कतारमा चार लाख नेपाली सहित २६ लाख जनसंख्या छ । अरव समन्वय समितिका सदस्य राष्ट्र साउदी, बहराइन र युएईले लगाएको नाकाबन्दीवाट आत्तिनु हाल्नु नपर्ने नेपाली अगुवाहरुको अनुभव छ ।

‘शुरुमा जति आत्तिएको थियौ । त्यसपछिको जीवन सामान्य छ । अहिलेसम्म केही प्रभाव देखिएको छैन,’ कतारमा रहेको जिल्लास्तर सामाजीक संस्था समन्वय समितिका संयोजक सुर्दशन भट्टले भने,‘म आफै सबै मार्केटमा मार्केटिङ गर्न पुगेको छु । कतै अभाव भएको देखेको छैन । सबै नेपालीले खाद्यान्य पाइन्छ भन्ने आशा रहेकोले चिन्ताहरु हट्दै गइरहेको छ ।’
Source : Ekantipur

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com