नि:शुल्क खाजाले विद्यार्थी आकर्षित


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

जेष्ठ २७, २०७४- एक बजे घन्टी बज्नासाथ बालबालिका नजिकको चमेनागृहतर्फ दौडिन्छन् । विद्यालयले नि:शुल्क खाजा खुवाउन थालेपछि डाँडाबजारस्थित एक सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि बढेको छ ।

नियमित खाजा खुवाउने कोषका लागि विद्यालयले नै दैनिक १ रुपैयाँ संकलन अभियान थालेको छ । भानु माविले विशेषगरी पूर्वप्राथमिक विद्यालयका बालबालिकालाई लक्षित गरी नि:शुल्क खाजा कार्यक्रम सञ्चालन सुरु गरेको हो ।

विगतमा विद्यार्थी न्यून भएपछि आकर्षणका लागि खाजा अभियान थालिएको थियो ।
गत कात्तिकदेखि नि:शुल्क खाजा खुवाउन थालिएको प्रधानाध्यापक यज्ञबहादुर लिम्बूले बताए । ठूला कक्षामा विद्यार्थी भरिभराउ रहेको उक्त विद्यालयमा नर्सरीदेखि ३ सम्म कम हुन थालेपछि नि:शुल्क खाजा कार्यक्रम राखिएको उनले जानकारी दिए ।

खाजा खुवाउन थालेपछि उक्त तहका बालबालिका हात्तै बढ्नुका साथै नियमित हाजिरी हुन थालेको लिम्बूको भनाइ छ । विद्यार्थी आकर्षण गर्न थालिएको खाजा कार्यक्रमलाई निरन्तरता दिन भने विद्यालयलाई हम्मेहम्मे परेको छ ।

आन्तरिक स्रोत नभएपछि विद्यालयले ‘खाजाका लागि दैनिक १ रुपैयाँ अभियान’ सुरु गरेको छ ।

नर्सरीदेखि ३ कक्षासम्म विगतमा न्यून विद्यार्थी उपस्थित भए पनि खाजा खुवाउन थालेपछि ६९ बालबालिका भर्ना भइसकेको विद्यालय स्रोतले जनाएको छ । १ रुपैयाँ अभियानका लागि ४० शिक्षकसहित विद्यार्थी, अभिभावकलगायत सहभागी छन् । कोषका लागि विद्यालय परिवारले गत तिहारमा देउसीभैलो कार्यक्रमबाट ४९ हजार संकलन गरेको छ । यसैगरी बेलायतमा रहेका पूर्वछात्र श्रीकुमार लिम्बूले १ लाख, जापानमा रहेकी पूर्वछात्रा लक्ष्मी लिम्बूले ५१ हजार उपलब्ध गराएको जनाइएको छ ।

जिल्लामा सीमान्तकृत समुदायका बालबालिका अध्ययनरत २५ विद्यालयमा पनि खाजा खुवाउने गरिएको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ ।

ती समुदायका बालबालिकाका लागि सरकारले बजेट उपलब्ध गराउँदै आएको छ । तर भानु माविले आफ्नै प्रयासमा सबै समुदायका बालबालिकालाई समेट्नु उदाहरणीय पक्ष रहेको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले जनाए ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com