२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

बिहीबार दिउँसो कोटेश्वर चोकमा यात्रु ओराल्न र चढाउन ‘जय श्री बाराही अजिमा की जय’ लेखिएको बा३ख १५८५ नम्बरको बस रोकियो । छेवैमा रहेको अनुगमन टोलीले बसका सहचालकलाई सोधे, ‘कोटेश्वरबाट जडीबुटी जाँदा कति भाँडा लिन्छौ ?’

मंगोलियन अनुहारका सहचालकले चलाखीपूर्ण ढंगले जवाफ दिए, ‘१२ रुपैयाँ ।’ उनको जवाफ अनुगमन टोलीले पत्याएन । किनभने बस चढ्नासाथ प्रतियात्रु १३ रुपैयाँ न्यूनतम भाडा निर्धारण गरिएको छ र सहचालकले तोकिएभन्दा कम लिने कुरा भएन । टोलीका सदस्य उपभोक्ता अधिकारकर्मी रञ्जन खनालले ‘होइन होला’ भनेर सहचालकलाई प्रश्न सोध्न मात्र पाएका थिएनन् । ढोका छेवैको सिटमा बसेका एक यात्रुले जवाफ दिए, ‘बसले १२ होइन, १५ रुपैयाँ लिन्छ ।’ यात्रुको जवाफ सुनेर सहचालक हच्किए । बढी भाडा लिएको थाहा पाएपछि अनुगमन टोलीले जरिवानाको कारबाही गर्यो ।

अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा गत मंगलबारदेखि प्रत्येक दिन ५ टोली खटाएर विशेष अनुगमन थालिएको छ र त्यसमध्ये एउटा टोली यातायात क्षेत्रमा बढी भाडा असुल्ने चालक र सहचालकलाई कारबाहीका लागि खटिएको छ । टोलीप्रमुख तथा विभागका निरीक्षक विष्णुप्रसाद सुवेदीले अनुगमनका क्रममा अधिकांश सार्वजनिक बस, माइक्रो, टेम्पोले यात्रुसँग २–३ रुपैयाँ बढी भाडा लिने गरेको भेटिएको बताए ।

‘१३ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा यात्रुले १५ रुपैयाँ दिनुपरेको भेटियो,’ उनले भने, ‘त्यस्तै १७ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा सहचालकले यात्रुबाट २० रुपैयाँ असुल्ने गरेको भेटिएको छ ।’ बढी भाडा असुल्ने प्रत्येक बसलाई यातायात व्यवस्था ऐनअनुसार ५ हजार जरिवानाको रसिद काट्ने गरेको उनले बताए ।

‘यात्रुलाई २–३ रुपैयाँ ठग्ने बसलाई ५ हजार रुपैयाँ जरिवना तिराउँदै आएका छौँ,’ उनले भने । अनुगमन टोलीमा आपूर्ति विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक, प्रहरी र उपभोक्ता अधिकारकर्मी सम्मिलित छन् । बुधबार कोटेश्वर चेकमा बसेर टोलीले ३१ गाडीको अनुगमन गरेको छ । त्यसमध्ये १३ बसले यात्रुबाट बढी भाडा असुलेको भेटेपछि जनही ५ हजार रुपैयाँ जरिवना गराइएको उनले बताए । टोलीले मंगलबार त्रिपुरेश्वरमा ५१ गाडीको अनुगमन गरी २९ लाई जरिवाना तिराएको थियो । बुधबार चक्रपथमा रहेको नारायणगोपाल चोकमा ५९ गाडीको अनुगमन गरी ३६ लाई जरिवाना तिराएको उनले जानकारी दिए ।

अनुगमनमा खटिएका ट्राफिक प्रहरी निरीक्षक मनोजकुमार साहीले सहचालकबाट नियतवश यात्रु ठगिने गरेको बताए । ‘झट्ट हेर्दा १–२ रुपैयाँ त हो नि भनेजस्तो देखिन्छ,’ उनले भने, ‘तर, यसबाट चालक र सहचालकले अतिरिक्त आम्दानी गरिरहेका छन् ।’ उनले दिनहुँ भइरहेको अनुगमनले यात्रुहरू खुसी देखिएको बताए ।

उपभोक्ता अधिकारकर्मी रञ्जन खनालले गृह प्रशासनमार्फत प्रभावकारी ढंगले प्रहरी र ट्राफिक प्रहरीलाई परिचालन गर्न सके यात्रुबाट बढी भाडा असुल्ने प्रवृत्ति अन्त्य हुने बताए । ‘सार्वजनिक यातायातमा यात्रा गर्न पहिलो कुरा त कठिन छ, यस्तोमा भाडादरमा पनि यात्रु ठगिनु दुःखद हो,’ उनले भने, ‘सरकारले प्रहरी प्रशासनलाई प्रभावकारी ढंगले बढी भाडा असुल्ने प्रवृत्ति प्रयोग गरेर समस्या निराकरण हुन्छ ।’ उनले नियमित रूपमा अनुगमन भइरहनुपर्ने बताए ।

Source : Naya Patrika

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com