दार्जिलिङमा सेना तैनाथ


प्रकाशित मिति : जेष्ठ २६, २०७४ शुक्रबार

जेष्ठ २६, २०७४- पश्चिम बंगाल राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जिलिङमा सेना तैनाथ गरेको छ ।

तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ पुलिसले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

करिव ४५ वर्षपछि पहिलोपटक दार्जिलिङमा राज्य क्याविनेटको बैठक आयोजना गरिएको थियो । राजभवनमा बैठक चलिरहँदा प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) प्रशासनको इजाजतै नलिइ बैठक आयोजना गरिएको भन्दै मोर्चा अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले भर्त्सना गरेका थिए ।

खासगरी बंगला भाषालाई राज्यका सबै स्कुलहरुमा अनिवार्य गरिने राज्य सरकारको निर्णयका कारण पनि दार्जिलिङका सर्वसाधारण आक्रोसित बनेका हुन् ।

बिहीबार सुरक्षाकर्मीबाट भएको ज्यादती विरुद्ध मोर्चाले आव्हान गरेको १२ घण्टे चक्का जामका कारण दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य सहरहरु प्राय: सुनसान बनेका छन् । यातायातका साधन, उद्योगधन्दा, स्कुल, कलेज, व्यापार व्यवसाय सबै ठप्प पारिएको मोर्चाका सहसचिव ज्योतिकुमार राईले जनाए ।

यसैबीच राज्य सरकारले जीटीएको प्रमुख सचिव रविइन्दर सिंहको स्थानमा वरूण रोयलाई नियुक्त गरेको छ ।
Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com