११ हजार किलोमिटरभन्दा लामो बाटो आफैं ‘ड्राइभ’ गरेर स्वेदश फर्कंदै राजदूत


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

जेष्ठ २५, २०७४- ‘अचेल मलाई विमान यात्रादेखि निकै डर लाग्छ । केही दिनअघि मात्र नेपालमा दुइटा प्लेन दुर्घटना भए,’ जर्मन राजदूत माथ्थियास मायेरले बुधबार काठमाडौंस्थित निवासमा कफीको चुस्की लिँदै भने, ‘सायद त्यसैले उडदाभन्दा गुडदा नै आफूलाई सुरक्षित छु जस्तो लाग्छ ।’ अझ आफैं ‘ड्राइभ’ गरेर बत्तिनुमा जस्तो आनन्द केहीमा लाग्दैन उनलाई ।

नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका राजदूतले त्यस्तो यात्राको भरपूर आनन्द लिने योजना पनि बुनिसकेका रहेछन् । नेपालबाट जर्मनीसम्म सडक यात्रा तय गर्ने साहस बटुलेका छन् उनले, त्यो पनि आफैं ‘ड्राइभ’ गरेर ।

‘नेपालमा सिल्क रोड, क्षेत्रीय सडक सञ्जालका धेरै कुरा उठे । अब म तिनैमध्येका कुनै सडकमार्ग प्रयोग गर्दै आफ्नो मुलुक फर्कनेछु,’ कफीको अर्काे चुस्की निल्दै उनले सुनाए, ‘समुद्र छल्दै युरोप, पश्चिम र दक्षिण एसिया जोडिएको स्थलमार्ग हुँदै जानेछु । समय लाग्छ तर सडक सञ्जाल कमजोर छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले काठमाडौंमा प्रयोग गर्दै आएको सवारीसाधनमा एक गैरकूटनीतिज्ञ साथी लिएर उनले यात्रा तय गर्नेछन् । नेपालबाट सडकमार्ग हुँदै स्वदेश फर्कने सम्भवत: उनी पहिलो कूटनीतिज्ञ हुनेछन् । आफ्नो कूटनीतिक यात्रा पूरा भएको तर जिन्दगीको यात्रा लामो रहेको उनले सुनाए । भने, ‘यात्रा नै जिन्दगी हो । नेपालमा रहँदा यहाँको धेरै स्थानमा आफैं सवारी चलाएर घुुमें । अब यही सुन्दर देशको स्मरण गर्दै भारत, पाकिस्तान, इरान, टर्की घुम्दै युरोप प्रवेश गर्नेछु ।’

यात्राका क्रममा चीनले अघि बढाएको पाकिस्तान करिडोर (सिपेक) सडक पनि उपयोग गर्ने राजदूतको योजना छ । पाकिस्तानको बलुचिस्तान हुँदै उनी इरान पुग्नेछन् । उनको यो पूरा यात्रा ११ हजार किलोमिटरभन्दा लामो हुनेछ । करिब ५० दिनमा जर्मनी पुग्ने उनको अनुमान छ ।

यात्रामा निस्कनु चार दिनअघि आफ्नो तीनवर्षे नेपाल बसाइ बिट मार्न लागेका उनले पत्रकारलाई सुनाए, ‘मेरो निवृत्ति यात्रा साँच्चै एक जिज्ञासु यात्रीका रूपमा अघि बढ्नेछ ।’ आइतबार बिहानै उनी काठमाडौंबाट बाहिरिनेछन् । लुम्बिनीमा एक दिन बसेर उनी महेन्द्रनगर पुग्नेछन् । त्यहाँबाट नेपाललाई बाईबाई गर्दै सोमबार भारत हुँदै कश्मीरतर्फ लाग्नेछन् । कश्मीर पार गर्दै उनी पाकिस्तानको बलुचिस्तान र त्यताबाट इरान पुग्ने योजना छ उनको । ४–५ सय किलोमिटर यात्रा गर्नेबित्तिकै आराम गर्ने र घुम्ने अनि पुन: यात्रा थाल्दै आफ्नो जन्मस्थलतर्फ लम्किरहने उनले बताए ।

सुन्दर नेपालले आफूलाई तानिरहने बताउँदै उनले भने, ‘वर्षमा कम्तीमा पनि एकपटक नेपाल आउने प्रयास गर्नेछु ।’ पोखरा, मनाङ, मुस्ताङ, अन्नपूर्ण क्षेत्र, सगरमाथा आधार शिविर, सौराहा स्मरण गर्दै उनले भने, ‘नेपाल बसाइमा मैले कूटनीतिक कार्यसम्पादनसँगै साँच्चैको सुन्दरता नियाल्ने अवसर पाएँ ।’ नेपालमा पटकपटक सौराहा तथा बर्दिया निकुञ्ज घुम्दा पनि बाघ देख्न नपाएको उनको मनमा खटकिरहेको छ । ‘मेरा केही साथीले भने आउनेबित्तिकै बाघ देखे र फोटो खिचेर ल्याए,’ उनले सुनाए, ‘त्यसैले नेपाल आउँदा निकुञ्ज जान छाड्ने छैन । जंगलमा स्वतन्त्र रूपमा हिँडिरहेको बाघ हेर्ने चाहना अधुरै छ ।’

बिदाइ हुने राजदूतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल र डेस्क अफिसरले औपचारिक बिदाइ गर्ने चलन छ । तर मायेरलाई कसरी बिदाइ गर्ने भन्नेमा परराष्ट्र अधिकारी अन्योलमा छन् ।

चीनले अघि बढाएको सिल्क रोड र सार्क मुलुकबीचको सडक सञ्जालबारे चर्चा हुने गरे पनि यसको वास्तविकताबारे कसैले नबोलेको भन्दै आफ्नो यात्राले युरोप र दक्षिण एसिया सडक यात्रामा जोडिएको सन्देश जाने राजदूतले सुनाए । चीनबाट पनि यो सडक सञ्जाल जोडिएको र छोटो पर्ने भए पनि उनले मध्यपूर्वको बाटो रोजेका हुन् ।

मायेरले आफूले नेपालबाट फर्कंदै गर्दा पाँच कुरा ‘मिस’ गर्ने बताए । नेपाली खाना (घिउ राखेको दाल, भात, तरकारी र म:म लगायत), यहाँको संस्कृति, सम्मान, ट्रेकिङ र यहाँको प्राकृतिक सौन्दर्य स्मरणमा सधैं आइरहने उनले सुनाए ।

‘यहाँका जनताको स्नेह, भूबनोट साँच्चै अविस्मरणीय छ । यहाँको पुरानो संस्कृति र प्राचीन कला प्रशंसायोग्य छ । यहाँको पुरातात्त्विक महत्त्वका क्षेत्रको संरक्षण आवश्यक छ । चाँगुनारायण र महालक्ष्मी मन्दिर तथा पाटन क्षेत्रको केही पुरातात्त्विक संरक्षणका रूपमा हामीले पुनर्निर्माणमा सहयोग गर्‍यौं,’ उनले भने, ‘पुराना भवन, पुराना सामग्री बचाएर राख्नुपर्छ । त्यो आफ्नो सभ्यताको चिनो हो ।’

यहाँको असहजता अव्यवस्थित ट्राफिक, जहाँ पायो त्यहाँ सवारीसाधन रोक्ने, लेन अनुशासन नहुने र सहरको प्रदूषण भने सुधार गर्नुपर्ने उनको सुझाव छ । व्यवस्थित बसस्टप, सडक पेटी, ठूला सार्वजनिक सवारी साधन र जरिवाना नै यसको उपाय हुने उनले सुझाए । कर्मचारीतन्त्रमा निकै अलमल हुँदा विकास प्रक्रिया अघि बढ्न नसकेको भन्दै उनले यसमा सुधारको आवश्यक रहेको अनुभव सुनाए । फोहोर व्यवस्थापन पनि नेपालको अर्को समस्या रहेको भन्दै यसमा सरकारको ध्यान जान जरुरी रहेको सुझाव दिए ।

नयाँ संविधान जारीसँगै स्थानीय निर्वाचन भएर केही स्थानमा स्थानीय प्रमुखहरू आइसकेको र अन्यमा निर्वाचन हुने क्रम रहेकाले अर्को निर्वाचनको सफलताको कामना गर्दै निर्वाचित नगर तथा गाउँ प्रमुखले आफ्नो क्षेत्रको सुधार गर्ने र अर्कोपटक नेपाल आउँदा धेरै सुधार भएको हेर्ने आशासमेत लिएको बताए ।

भारतले नेपालबाट फाइदा लिन सक्नुपर्छ
मायेरले तीन वर्षमा नेपालका चार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने अवसर पाए । शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिनु केहीबेर अघि राजदूत निवासमा पत्रकारसँग राजदूतले गफिँदै भने, ‘मेरो तीनवर्षे कार्यकालमा चार प्रधानमन्त्रीसँग भेट गर्न पाएँ । म भाग्यमानी राजदूत हुँ । यस्तो अवस्था संसारमा विरलै मिल्छ ।’

उनले नेपालमा राजनीतिक अस्थिरता विस्तारै टुंगिने बताउँदै भने, ‘भारतले नेपालसँग सुमधुर सम्बन्ध राखेर आफ्नो विकासमा फाइदा लिन सक्नुपर्छ ।’

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com