९ वर्षीया बालिकाको हत्या
प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

दमक: झापाको दमकमा बुधबार साँझ एक बालिकाको हत्या भएको हत्या भएको छ। दमक–२ का हेमकर्ण दाहालकी छोरी ९ वर्षीया गंगा दाहालको हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। गंगा बुधबार साँझ टाउको, कुम र छातीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राजन लिम्बुले बताए। नजिकैको एक विद्यालयको कक्षा–२ मा अध्ययनरत उनी विद्यालयबाट आएर ‘पेट दुख्यो’ भन्दै आराम गर्न माथिल्लो तल्लामा रहेको कोठामा गएको बेला यस्तो घटना भएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले गंगाकी दिदीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। ‘घटना हुँदा उनकी दिदी घरको मुनिको तलामा रहिछन्’ डिएसपी लिम्बूले भने, ‘घर छेउमा थ्रेसर चलाउने अरु तीन जनलाई नियन्त्रणमा लिएका छौं।’ गंगाको शव मोरङको मंगलबारेस्थित मंगलबारे अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
Source : Thaha Khabar