Follow @khasokhasmag

सुविधा पाउन नसकेको ज्येष्ठ नागरिकको गुनासो


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

धादिङ, २५ जेठ । ज्येष्ठ नागरिक जिल्ला सङ्घको समन्वयमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार धादिङमा आयोजना गरिएको ‘ज्येष्ठ नागरिकको मानव अधिकारको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा ज्येष्ठ नागरिकले सरकारबाट पाउने भनिएको सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।

ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष वासुदेव लम्सालको अध्यक्षतामा आयोजित अन्तक्र्रिया कार्यक्रममा ज्येष्ठ नागरिकले आफूलाई उपलब्ध गराएको परिचयपत्रमा सार्वजनिक यातायात तथा स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने कुरा कागजमा मात्र सीमित रहेको र सार्वजनिक यातायातका साधनमा छुट्याइएको महिला, असक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सिट देखाउनका लागि मात्र राखिएको आरोप लगाएका छन् ।

वैदेशिक रोजगारीका लागि छोरा नाति विदेश जाने, बुहारीहरु छोराछोरीलाई पढाउन गाउँघर छाडी सहरमा आइ बस्नाले घर कुरुवा ज्येष्ठ नागरिक मात्र गाउँघरमा बस्ने भएकाले उनीहरुको जीवनयापन गर्दा ज्यादै दुःख र कठिनाइ भोगिरहेको र बिरामी पर्दा हेरचाह गर्ने मानिस पनि नहुने गरेको दुखेसो ज्येष्ठ नागरिकको रहेको थियो ।

प्रजिअ महेश आचार्यले कानुनले तोकेको सुविधा किन ज्येष्ठ नागरिकले पाउन नसकेको भन्नेबारे सरोकारवालालाई राखी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत प्रतिनिधिद्वय वीरबहादुर बुढामगर र किरणप्रसाद घिमिरेले गर्नुभएको थियो । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com