यातायातमा ज्येष्ठ नागरिकलाई सुविधा माग


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

पोखरा, २३ जेठ । महिला तथा बालबालिका कार्यालय कास्कीले चार हजार ३५३ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।

सामाजिक सुरक्षामा ज्येष्ठ नागरिकलाई विभिन्न सेवासुविधा प्रदान गर्ने सरकारको निर्णयसँँगै ज्येष्ठ नागरिकमा परिचयपत्रप्रति आकर्षण बढ्दै गएको छ । महिला तथा बालबालिका कार्यालय कास्कीका सहायक महिला विकास निरीक्षक मैना मल्लका अनुसार कार्यालयले ६० वर्षभन्दा माथिका नागरिकलाई परिचयपत्र प्रदान गर्ने गरेको छ । परिचयपत्रका आधारमा स्वास्थ्य, यातायातलगायत विभिन्न क्षेत्रमा सहुलियत प्राप्त हुने भएका कारण यसतर्फ चासो बढेको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवामा सहुलियत प्राप्त गरे पनि जिल्लामा यातायात सेवामा भने अझै सहुलियत पाउन नसकेको गुनासो आउने गरेको छ । “ जिल्लाभित्र यातायातमा सहुलियत माग्दा सार्वजनिक यातायात साधनका कर्मचारीले परिचयपत्र नै जफत गर्न खोज्ने, च्यातिदिने, धम्क्याउने गरेको ज्येष्ठ नागरिकका गुनासा पनि आउने गरेका छन्,”, उहाँले भन्नुभयो ।

ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार जिल्लाबाट अघिल्लो वर्ष भदौ २३ गतेदेखि परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । सुरुसुरुमा त ज्येष्ठ नागरिकको अत्याधिक चापका कारण दिनमा एक सयभन्दा बढी परिचयपत्र वितरण गर्नुपरेको थियो ।

ज्येष्ठ नागरिकले सरकारले तोकेबमोजिम सहुलियत पाउनुपर्ने भए पनि यातायातमा पाउन नसकेको गुनासो बढेपछि ज्येष्ठ नागरिकका तर्फबाट जिल्ला प्रशासन कार्यालय कास्कीमा त्यसको कार्यान्वयनको माग गर्दै ध्यानाकर्षणसमेत गराइएको छ ।

ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष कुशुमकेशव पराजुलीका अनुसार ज्येष्ठ नागरिकले प्राप्त गर्ने सुविधा पाए नपाएको अनुगमन एवम् कार्यान्वयनका लागि प्रजिअको सयोजकत्वमा अनुगमन समिति रहने व्यवस्था रहेका कारण पाउने सहुलियतको कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराइएको हो ।

ज्येष्ठ नागरिकले राज्यले तोकेअनुसारको सेवासुविधा सम्मानजनक रुपमा पाउनुपर्ने उल्लेख गर्दै उहाँले त्यसको सही कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्येष्ठ नागरिक बिरामीका लागि १० श्यया छुट्याइएको छ । सरकारले ज्येष्ठ नागरिकको बिर्सने रोगका लागि रु एक लाखसम्मको निःशुल्क उपचारको व्यवस्था गरेको बताइएको छ । रासस (तस्बिर उपलब्ध छ )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com