वर्षाका कारण बाटो अवरुद्ध
प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार
महोत्तरी जिल्लामा आज एकाबिहानै परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ ।
बिहान ५ बजेदेखि नै परेको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ ।
जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले ती खाल्डाखुल्डीमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ ।
त्यस्तै बाटोमा माटाका थुप्रा यत्रतत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फस्ने र दुर्घटना हुने डर भएकाले बाटा अवरुद्ध भएका छन् ।
भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा बस, जिप, ट्र्याक्कर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकल समेत चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको हो ।
तर जिल्लाभित्रका एकमात्र जलेश्वर–बर्दिवास पक्की बाटो भएकाले सो बाटो अवरुद्ध नभएको र अन्य बाटो अवरुद्ध भएपछि यस बाटोमा यातायातका साधनको चाप बढेको छ । रासस