क्रसरको लापरबाहीले मृत्यु भएको आरोप


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका– ९ का हरिप्रसाद पराजुलीको क्रसर उद्योगको लापरबाहीका कारण डुबेर मृत्यु भएको स्थानीयवासीले आरोप लगाएका छन् ।

उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भन्नुभयो ।

उहाँले जथाभाबी ढुङ्गा र गिट्टी निकालेर प्रकृतिको दोहन भएको र त्यसले पहिराको जोखिमसमेत बढेको बताउनुभयो । नदीजन्य पदार्थ झिकेका कारण नदी गहिरो भएको र त्यसले आसपासको जमिनलाई पनि प्रभावित गर्दा पहिरो गएको पराजुलीको भनाइ छ ।

काभ्रेपलाञ्चोकको प्रजिअ शिवप्रसाद सिंखडाले क्रसर उद्योग सिन्धुपाल्चोक जिल्लाको भएको र मृत्युको घटना काभ्रेपलाञ्चोकमा भएको उल्लेख गर्दै वास्तविकताको छानबिन गरिने बताउनुभयो ।

उहाँले ढुङगा र गिट्टी झिक्ने कामको छानबिनपछि तथ्य बाहिर आउने विश्वास व्यक्त गर्नुभयो । भूम्लु गाउँपालिका– ९ का पराजुलीको शनिबार इन्द्रवती नदीमा डुबेर मृत्यु भएको थियो । स्थानीयवासीले त्यहाँ प्रयोग भएका क्रसर उद्योगको इजाजतपत्र पनि नभएको आरोप लगाएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com