जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

नेपालमै अब कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने भएको छ ।
कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु भएको बताउँदै भन्नुभयो ‘यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको थियो, अब नेपालै गर्न सक्ने भएका छौँ ।’
उहाँले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताउनुभयो ।

निर्देशक डा. झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिनुभयो । डा. झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो ।

‘कोरोना भाइरसले आफ्नो जिनमा साना साना म्युटेसन गरिरहन्छ, जसले खासै प्रभाव पार्दैन, तर कहिलेकाहिँ भाइरसको चरित्रमा ठूलो बदलाव ल्याउँछ । जस्तै– बढी संक्रामक हुने, छिटो फैलिने र भएका औषधिले काम नगर्ने उहाँले बताउनुभयो’ यसरी परिवर्तित भएका कोरोनालाई नयाँ भेरियन्ट भनिने र त्यलाई विश्व स्वास्थ्य संगठनले नाम दिने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com