रेखा आफैँले कोरेको ‘भाग्यरेखा’


प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार

दाङको ब्राम्हण परिवारमा जन्मे हुर्केकी रेखा बर्दियाको चौधरी परिवारकी बुहारी बन्न पुगिन्। आफूले माया गरेको मान्छेसँग जिन्दगी बिताउने अनगिन्ती सपना बुनेर जन्मघर छोडेकी उनलाई जातीय रुपमा सिङगाे समाजसँग एक्लै भिड्नु पर्छ भन्ने थाहा थिएन।

प्रेम न हो !

युवा अवस्था ! आफूले औधि मनपराएको मान्छे। समाजले के भन्छ भन्ने मतलब हुँदैन।

विवाह भयो। दिनहरु बित्दै गए। जति दिन बित्दै जान्थे, उति नै जीवनमा अप्ठ्याराहरु थपिँदै थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हरेक बिहानीले उनको जीवनमा नयाँ अप्ठ्याराहरु बोकेर आउने गर्थ्याे।

‘बैनी पुराना कुरा गरेर फाइदा छैन। म यत्ति भन्छु अन्तरजातीय विवाह गर्नुपूर्व धेरै सोचविचार गर्नु। निकै कठिन हुन्छ,’ रेखाले भनिन्।

रेखा शर्मा, एक सफल महिला उद्यमी।

यो परिचय बनाउन उनले गरेको मिहिनेतभित्र अनगिन्ती पीडा र कष्टले भरिएका कथाहरुको माला नै छ।

कर्ममा विश्वास गर्ने रेखा आफूले आँटेको काम गर्न कहिल्यै हिच्किचाईनन्।

बर्दियाबाट छोरीहरु बोकेर काठमाडौं आउँदाको कुरा सुनाउँदै भनिन् ‘काठमाडौं भाइको घरमा आएँ। छोरीहरुलाई बोर्डिङ पढाउने इच्छा थियो। बर्दियामा राम्रो स्कुल थिएन। मनमनै काठमाडौं बस्ने र काम गर्ने निधो गरेँ। त्यो कुरा भाइलाई सुनाएँ। तर, मसँग पैसा थिएन, भाइसँग ५ हजार मागेर बूढानीलकण्ठ मन्दिर अगाडिकाे बिक्रीमा रहेको मिठाई पसल किन्ने निधो गरेर बैना दिएँ। त्योबेला फोन थिएन। श्रीमानलाई सोध्न पाईन। बैना मारेर घर फर्किएँ।’

रेखाले घर पुगेर आफूले पसल किनेको कुरा श्रीमानलाई सुनाइन्। श्रीमानले आश्चर्य मान्दै भनेछन्–तँ बहुलाईस् कि क्या हो ? म जादिँन, तँ एक्लै जा।’

यो २०५९ काे कुरा थियो। त्योबेला बर्दियामा कहिले माओवादी त, कहिले सेना–पुलिसकाे निगरानीमा दिन बिताउनु परेको थियो। एक दिन उनले छोरीहरुको शिक्षाका लागि बर्दिया छोड्ने निर्णय गरिन्। घरमा रहेको केही चामल र लत्ताकपडाकाे गुण्टा लडियामा राखिन् र छोरीहरु बोकेर काठमाडौंको बाटो नापिन्।

 

बस चढ्ने ठाउँसम्म आउन ठूलो नदी पार गर्नुपर्थ्याे। लडियामा चामल र लुगालत्ता बोकेर बढो कठिनसाथ नदी पार गर्दै रात्रिबस चढिन्।

रेखाको जीवन अहिले सातै रंगले रंगिएको छ।

काठमाडौंमा सुरुका दिन केही कठिन .थियो। तर बिस्तारै उनले मिठाई पसलबाट राम्रो कमाइ गर्न थालिन। डेढ लाखमा किनेको पसलको पुरै ऋण मात्र तिरिनन्, एउटा स्टीलको दराज र ब्ल्याक एण्ड ह्वाइट टीभी पनि जाेडिन्।

श्रीमानले उनको पौरखलाई विचार गरिरहेका थिए।

पहिले एक्लै जा भनेर बेवास्ता गर्ने उनी पनि दुई वर्षपछि काठमाडौं हान्निए।

छोरीहरु हुर्कदै गए। रेखाले पनि बिस्तारै आफ्नो मिहिनेतको दायरा बढाउँदै लगिन्। मिठाइ पसलबाट उनले मस्यौरा, अचार बनाउने व्यवसायमा पनि हात हालिन्। र, उनको सफलताका पाइला निरन्तर अगाडि बढ्दै गए।

उनले आफ्नै कमाइमा एउटी छोरी अमेरिका र अर्कीलाई क्यानडा पढ्न पठाइन्। सानो छोरा र सानो छोरी काठमाडौंमा उनकै साथमा छन्। अन्तरजातीय विवाहपछि आईलागेका अनगिन्ती समस्याको सामना गर्दै आफ्नो भाग्यरेखा आफै कोर्न सफल रेखा देशका विभिन्न ठाउँमा पुगेर दिदीबहिनी दाजुभाइहरुलाई सीपमूलक तालीम दिईसकेकी छन्।

उनी व्यावसायिक क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहँदै आएकी छिन्। आफूले सक्ने हरेक सहयोग गर्नका लागि सँधै अंग्रपक्ति उभिन्छिन्।

सामाजिक, आर्थिक र पारिवारिक रुपमा भोग्नु परेको पीडाले स्पातिलो बनेकी रेखा भन्छिन्, ‘जुन सीपलै मेरो जिवन टुट्नबाट बचायो! हिम्मत दियो, त्यही सीपले केही गर्न चाहने हाम्रा दिदीबहिनीहरुको हौसला बनोस्। मसँग भएको सीप देशका हरेक जिल्लामा पुगेर सिकाउने योजना बनाएको छु। जसले आफ्नो र आफ्ना सन्तानका लागि जीवनयापन गर्न सहज बनाउनेछ।’

सुरुवातमै पवित्र ठाउँबाट सबैलाई गुलियो बाँडेकी रेखा अहिले आफूसँग भएको सीप बाँड्दै हिँडेकी छिन्। जीवनमा केही गर्न सकिँदैन कि भनेर हिम्मत हारेका दिदीबहिनीको प्रेरणा बनेकी छिन्।

भन्छिन्, ‘भोलि कसैले देखेको हुँदैन, बाहिरी सुन्दरतालाई मात्र नहेरी भित्रिबाट आँट र तागतलाई बलियो बनाउन कुनै पनि काम गर्न अल्छि नबनाैँ, समयमै बुद्धि पुर्‍याउने हो भने आफ्नो खुट्टामा उभिनसक्ने साहसिक महिला बन्न सकिन्छ।’

यो उनको जीवन विज्ञानबाट सिकेको कुरा हो। उनले गरेको श्रम र हिंम्मतलाई सम्मान गर्ने धेरै संघसंस्था र विशिष्ट व्यक्तिहरु रहेका छन्। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई उनले बनाउने गुन्द्रुक, विभिन्न प्रकारका अचार र मस्यौराका नियमित ग्राहक हुन्। उनको कम्पनीमा उत्पादन हुने सबै वस्तुहरु नेपाली बजारमा मात्र होइन, विदेशमा रहेका नेपालीमाझ निकै लोकप्रिय छ।

मिहिनेत गर्ने बानी उस्तै छ। उत्साहमा कमी आएको छैन।

‘कुनै दिन राति १२ बजेदेखि दिनको १२ बजेसम्म निरन्तर काम गरेको छु। म एक घण्टा खाली बस्न सक्दिन। कुनै न कुनै काम गरेकै हुन्छु। मस्यौरा, अचार र ग्रन्द्रुक अस्ट्रेलिया, बेलायत, जापान र अमेरिका बस्ने नेपाली दाजुभाइ, दिदी बहिनीलाई पुर्‍याउन गाह्रो भएको छ, उतै धेरै खपत हुन्छ।’

उनको कम्पनी ‘रिक’ मा उत्पादित मह, अचार,मस्यौरा र र गुन्द्रुक नेपालका धेरै सुपर मार्केट र मिनि मार्केटहरुमा पाइन्छ। यो उद्योग सञ्चालनमा ल्याउनुपूर्व रेखाले १३ वर्ष मिठाइ पसल र केही वर्ष क्याटरिङकाे कामसमेत गरेकी थिइन्।

उनीसँग यतिखेर २० भन्दा बढी सीप सिकाउने दक्षता छ। उनले तालिम दिनेमात्र होइन, आफूलाई हरेक काममा अब्बल बनाउन तालिमहरु पनि लिएको सुनाईन्।

२०३० सालमा दाङको ढोडेनी डाँडामा जन्मेकी रेखाले औपचारिक रुपमा कक्षा १० सम्म पढे पनि उनीसँग पिएचडी होल्डरलाई टक्कर दिन सक्ने सीपमूलक ज्ञानको भण्डार छ।

सफल उद्यमी बन्नका लागि रेखाले सुझाव दिँदै भनिन् ‘कुनै पनि काम सानो ठूलो हुँदैन। सफलता यत्तिकै पाईदैन, धेरै दुःख हुन्छ। दुःखले मलाई यहाँ ल्याईपुर्‍याएकाे हो। जीवन के हो समयले सिकाउनेरहेछ। काम गरौँ सफलता तपाईको पोल्टोमा हुनेछ।’

रेखा शर्मा चौधरी अहिले हरेक घरको भान्सामा पुग्न सफल छन्। यसको मुख्य कारण उनले गरेको मिहिनेत, लगनशीलता र उत्पादनमा गुणस्तरीयता हो।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com