फोहर पानी प्रशोधन केन्द्र निर्माण हुने


प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले नदी प्रणालीमा प्रवाह भइरहेको फोहर पानीलाई प्रशोधन गर्न तीनवटा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा फोहर पानी प्रशोधन केन्द्रको पुुनःस्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत निर्देशनालयले उक्त प्रशोधन केन्द्रको निर्माण गर्न लागेको हो ।

पहिलो चरणमा निर्देशनालयले दुई प्याकेजमा काम गरिरहेको छ । पहिलो प्याकेजमा गुह्येश्वरीको विद्यमान प्रशोधन केन्द्रको सुधार र क्षमता वृद्धि तथा दोस्रो प्याकेजमा सल्लाघारी, कोड्कु तथा धोबीघाटमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिने छ ।

नयाँ स्थापना हुन लागेका फोहर पानी प्रशोधन केन्द्रमध्ये सल्लाघारी प्रशोधन केन्द्रबाट दैनिक एक करोड ४२ लाख लिटर, कोड्कुमा स्थापना हुने प्रशोधन केन्द्रबाट दैनिक एक करोड ७५ लाख लिटर र धोबीघाटमा निर्माण हुने प्रशोधन केन्द्रमा दैनिक तीन करोड ७० लाख लिटर फोहर पानी प्रशोधन हुनेछ । ती प्रशोधन केन्द्रमध्ये धोबीघाटमा निर्माण हुने केन्द्र सबैभन्दा ठूूलो हो । गुुह्येश्वरीमा रहेको प्रशोधन केन्द्रबाट दैनिक तीन करोड ४० लाख लिटर पानी प्रशोधन गरिने छ ।

गुुह्येश्वरीको प्रशोधन केन्द्र सुधार र नयाँ एकाइ थप गर्ने कामको जिम्मा भारतीय निर्माण कम्पनीलाई दिइएको छ । गत वर्षदेखि गुह्येश्वरीको केन्द्र सुधारको काम सुरु भएको थियो ।

नयाँ तीनवटा प्रशोधन केन्द्र निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सङ्घाई साफबोन वाटर सर्भिस कम्पनी लिमिटेडले प्राप्त गरेको छ । यी प्रशोधन केन्द्र निर्माणसम्बन्धी सम्झौता पत्रमा २०७३ माघ ४ गते नै आयोजना र निर्माण पक्षबीच हस्ताक्षर भएको थियो ।

यी तीनवटै प्रशोधन केन्द्रको निर्माण आगामी ३० महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था सम्झौता पत्रमा उल्लेख गरिएको छ । प्रशोधन केन्द्रको निर्माणपछि उपत्यकाका नदीमा मिसाउने गरिएको फोहर पानी प्रशोधनपछिमात्रै नदीमा बगाइनेछ । यसले उपत्यकाको नदी प्रणालीमा प्रदूषणको मात्रामा कमी आउने आशा निर्देशनालयले लिएको छ । तीनवटै प्रशोधन केन्द्रको निर्माण लागत रु छ अर्ब रहेको जनाएको छ ।

फोहर पानी प्रशोधनका क्षेत्रमा भइरहेका पछिल्ला अनुसन्धान र प्रयोगका बारेमा छलफल गर्ने एवम् उपत्यकामा निर्माण हुन लागेका प्रशोधन केन्द्रको डिजाइनलाई पुुनरावलोकन गरी आर्थिक रुपले मितव्ययीे प्रणाली अवलम्बन गर्ने उद्देश्यसहित राजधानीमा आजदेखि तीनदिने कार्यशाला सुरु भएको छ । कार्यशालाको खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री शाहीले कार्यशाला औपचारिकतामा मात्र सीमित नभई उपत्यकाका नदी सफा बनाउने अभियानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“कार्यशाला गोष्ठी गरेर डिजाइन पुनरावलोकन गरी निर्माण हुने फोहर पानी प्रशोधन केन्द्रले ल्याउने परिणामलाई म जहाँ भए पनि नजिकबाट हेर्नेछु, ऋण सहयोग लिएर भइरहेको काम गुणस्तरीय हुनुपर्छ” – उहाँले भन्नुभयो ।

कार्यशालामा निर्देशनालयका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, स्रोत व्यक्तिद्वय राजेन्द्रप्रसाद भट्टराई र केशव शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि आज र भोलि छलफल गरी डिजाइनलाई पुनरावलोकन गरिने निर्देशनालयले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com