रु ३९ लाखमा झोलुङ्गे पुल बन्यो


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ । कुल रु ३९ लाखको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

पुल निर्माणका लागि स्वाप केन्द्रीय अनुदानबाट १९ लाख ९५ हजार ८७२, स्विस दूतावासबाट १० लाख ६३ हजार ४१६, झोलुङ्गे पुल सहयोग इकाई पोखरा र क्षेत्रीयस्तरको साझेदार संस्था पोखराको रु पाँचलाख ४० हजार सहयोग प्राप्त भएको थियो । मिलन म्याग्दीले भने पुल निर्माणका लागि व्यवस्थापन गरेको थियो ।

यसैगरी, जिल्ला समन्वय समिति म्याग्दीबाट रु एकलाख २५ हजार, मुदीको वडा कार्यालयबाट रु एक लाख १२ हजार र स्थानीयवासीको रु ७५ हजार जनश्रमदानमा पुल निर्माण गरिएको पोखराका प्राविधिक श्रीधर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको वैशाख १३ गते सम्झौता भई यही जेठको ४ गते निर्माण सम्पन्न झोलुङ्गे पुलबाट ३०० घरधुरीका एक हजार ८४० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

निर्माण सम्पन्न झोलुङ्गे पुलको हालै उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थमसरा पुनले पुल निर्माणपछि आवतजावतमा धेरै सहज हुने बताउनुभयो ।

उहाँले गाउँपालिकाका सबै वडामा भौतिक पूर्वाधार विकास गर्ने बताउँदै दुर्गममा पुग्न नसकेको सरकारी सेवासुविधा अब गाउँपालिकामार्फत पु¥याइने प्रतिबद्धतासमेत जनाउनुभएको छ । रासस
–––––––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com