दुई वर्षदेखि कक्षाकोठा नहुँदा समस्या


प्रकाशित मिति : जेष्ठ १६, २०७४ मंगलबार

बैतडी, १६ जेठ । बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएकोमा अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ ।

दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदा आवश्यकताअनुसार कक्षाकोठा नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविमा पठनपाठनमा समस्या भएको हो ।

विसं २०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छकोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त भट्टले जानकारी दिनुभयो ।

विद्यालयसँग आन्तरिक आय केही नभएकाले विद्यालय भवन निर्माण गर्न सकिएको छैन, प्रधानाध्यापक भट्टले भन्नुभयो “विद्यालयमा कक्षाकोठाको अभावमा बहुकक्षा शिक्षण गर्नुपरेको छ ।”

मौसम प्रतिकूल भएको बेला विद्यालय नै आउन छोडेको छात्रा धाना भाटले बताउनुभयो । उहाँले भन्नुभयो “पानी लागेका बेला विद्यालयमा बस्ने कोठा नै छैनन्, त्यसैले विद्यालय जानै छोडेका छाँै ।”

विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयसम्म धाउँदा समेत केही सीप नचलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त कुँवरले जानकारी दिनुभयो ।

विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब दिनसमेत धौधौ परिरहेको छ, उहाँले भन्नुभयो “आन्तरिक स्रोतबाट भौतिक संरचना निर्माणको केही काम गर्न सकिएको छैन ।”

जिल्ला शिक्षा कार्यालयले पनि राजनीतिक पहुँचका आधारमा भवन निर्माण र पुनःनिर्माण गर्ने भएकाले आफूहरुलाई समस्या भएको समेत उहाँले बताउनुभयो । रासस
––––––––––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com