‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको अमेरिकामा हृदयघातबाट निधन, मंगलबार अन्त्येष्टी गरिने


प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार

लोकप्रिय व्याण्ड ‘नेपथ्य’को चर्चित गीत ‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको छ । अमेरिकाको नर्थ क्यारोलाइनामा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका थकालीको शुक्रबार राती निधन भएको हो ।

नेपालको हिमाली जिल्ला मुस्ताङमा जन्मिएका थकालीको ५१ बर्षको उमेरमा निधन भएको छ । रेस्टुरेन्टको काम सकी नर्थ क्यारोलिनाकै वीन्डेलमा रहेको घर फर्किएका थकाली राती बाथरुम गएका थिए र धेरै बेर सम्म ननिस्केपछि श्रीमती गएर हेर्दा लडिरहेको अवस्थामा भेटिएका थिए ।

मुस्ताङमा दिनहुँ १२ बजेपछि हावा तिब्र गतिमा चल्ने भएपछि संगीतकारसमेत रहेका विश्व थकालीले ‘जोमसोमै बजारमा’को रचना गरेका थिए । थकालीका २ छोरा नेपालमा रहेका छन् ।

मुस्ताङको घरपझोङ ४ जोमसोम पुर्ख्यौली घर रहेका रहेका उनी लामो समयदेखि अमेरिकामा नै बस्दै आएका थिए ।थकालीको मंगलबार अमेरिकामा नै अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com