भ्याक्सिनका दुईवटै डोज लिएको २ साता भएकाहरु क्वारेन्टीनमा बस्न पर्दैन: सीडीसी
प्रकाशित मिति : माघ २८, २०७७ बुधबार
तीन मापदण्ड पूरा गरेका कोरोनाबिरुद्धका भ्याक्सिनका दुबै डोजहरु प्राप्त गरेका व्यक्ति संक्रमितसँगको संसर्गमा आएपनि क्वारेन्टीनमा बस्न अनिवार्य नभएको सीडीसीले बताएको छ । मोडेर्ना वा फाइजरको भ्याक्सिनका दुबै डोज लिएका व्यक्तिले तीन मापदण्ड पूरा गरेको भएमा संक्रमितको संसर्गमा आएपनि क्वारेन्टीनमा बस्न अनिवार्य नरहेको सीडीसीले आज बताएको हो ।
तर उनीहरुले सावधानी भने अपनाउनुपर्ने सीडीसीले बताएको छ । अपडेट गरिएको निर्देशिकामा भनिएको छ – ‘यसको अर्थ उनीहरुले सावधानी अपनाउनुपर्दैन भनेको होइन । केबल उनीहरुका लागि क्वारेन्टीनमा बस्न आवश्यक छैनमात्र भनेको हो ।’
दुईवटै डोज लगाएकाहरुले क्वारेन्टीनमा नबस्नका लागि केही मापदण्डहरु भने पूरा गरेको हुनुपर्छ । उनीहरुले दोश्रो डोज लगाएको पनि २ साताभन्दा बढी भइसकेको हुुनुपर्ने सीडीसीले जनाएको छ । सीडीसीका अनुशार पूर्णरुपमा प्रतिरोधात्मक क्षमता बृद्धि हुनका लागि दोश्रो डोज लगाएको दुईसाता भएको हुनुपर्छ ।

त्यस्तै दोश्रो डोज लगाएको तीन महिना नाघेको हुनुहुँदैन । प्रतिरोध क्षमता कतिसमयसम्म रहन्छ भन्नेबारे केही बताइएको छैन । त्यसैले दोश्रो डोज लगाएको तीन महिना नाघिसकेको छ भने र संक्रमितको संसर्गमा आएको छ भने त्यस्तो व्यक्ति क्वारेन्टीनमा बस्नुपर्ने सीडीसीले जनाएको छ ।
त्यस्तै दोश्रो डोज लगाएको व्यक्तिमा कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको हुनुहुँदैन । यदि कोरोना संक्रमणको लक्षण देखिएको खण्डमा भने क्वारेन्टीनमा बस्न सीडीसीले सुझाव दिएको छ ।
सीडीसीको नयाँ निर्देशिका: दुईवटा मास्क लगाउन वा एउटै मास्क कँसेर लगाउन सुझाव
भ्याक्सिन लगाएको व्यक्तिले पनि संक्रमितको संसर्गमा आएमा १४ दिनसम्म लक्षण देखिएको नदेखिएको बारे विचार गर्न सुझाव दिइएको छ । भ्याक्सिन लगाएको र प्रतिरोधी क्षमता भइसकेको व्यक्तिले पनि कोरोना भाइरस नाक वा घाँटीमा बोकेर अरुलाई सार्न सक्ने भएकाले अन्य मापदण्डहरु भने अपनाउन नछाड्न सुझाव दिइएको छ ।
त्यस्तै भ्याक्सिन लगाइसकेका व्यक्तिलाई पनि आफू बच्न र अरुलाई बचाउन मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भींडभाडमा नजाने, बारम्बार हात धुने, खोक्दा वा हाछ्यु गर्दा मुख छोप्ने लगायतका नियम पालना गर्न सुझाव दिइएको छ । भ्याक्सिनले लक्षणयुक्त बिरामीलाई रोक्ने भएपनि लक्षण नभएको संक्रमण रोक्ने पुष्टी भएको छैन । तर लक्षण नभएका संक्रमितले समेत कोरोना फैलाउन सक्छन् ।
आज अपडेट गरिएको सीडीसीको निर्देशिकाको पूर्ण पाठ यहाँ पढ्नुहोस् ।






