सीडीसीको नयाँ निर्देशिका: दुईवटा मास्क लगाउन वा एउटै मास्क कँसेर लगाउन सुझाव
प्रकाशित मिति : माघ २८, २०७७ बुधबार
कोरोनाभाइरसको बढी संक्रामक भाइरसबाट बच्न अमेरिकन संघीय स्वास्थ्य अधिकारीहरुले अमेरिकनहरुलाई दुईवटा मास्क लगाउन वा एउटैमास्क कँसेर लगाउन सुझाव दिएका छन् । मास्क लगाउने दुईवटा तरिकाले संरक्षण बृद्धि गर्ने सीडीसीले बुधबार सार्वजनिक गरेको निर्देशिकामा जनाइएको छ ।
दुईवटामध्ये एउटा तरिका पहिले सर्जिकल मास्क लगाएर त्यसमाथि कपडाको मास्क लगाउनु हो । दोश्रो सर्जिकल मास्कलाई हावा नछिर्नेगरी कँसेर लगाउनु हो । छेउबाट हावा नछिर्नेगरी राम्रो तरिकाले मास्क लगाएमा भने एउटै सर्जिकल मास्क लगाएपनि कोरोना संक्रमणबाट बच्न मद्दत पुग्ने जनाइएको छ ।
ल्याब परीक्षणका क्रममा यी दुई तरिका अपनाउँदा कोरोनाको नयाँ प्रकारबाट बच्न ९५ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ । अमेरिकामा कोरोना संक्रमण फैलिएको एकबर्ष र झण्डै ५ लाखको मृत्यु भइसकेको अवस्थामा मास्कको महत्वबारे नयाँ निर्देशिका, सामाजिक दुरीको पालना, हात धुने अभ्यास र भींडभाडयुक्त स्थानमा नजाँदा कोरोनाबाट बच्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म सीडीसीले सर्वसाधारणलाई कपडाको मास्क लगाउन प्रोत्साहन गर्दै आएको थियो । मेडिकल मास्क र एन ९५ मास्कको अभाव हुनसक्ने भएकाले सीडीसीले कपडाको मास्कमा जोड दिंदै आएको थियो । तर आपूर्तिमा बृद्धि भएपछि सीडीसीले मेडिकल मास्क र कपडाको मास्कबारे फाइदा बेफाइदाका विषयमा जानकारी उपलब्ध गराउन लागेको छ ।
राष्ट्रपति जो बाइडेनले अमेरिकनलाई मास्क लगाउन प्रोत्साहन गर्दै कार्यकारी आदेश समेत जारी गरेका छन् । बाइडेनले विमान, रेल र बसहरु लगायत संघीय भूभाग र भवनमा मास्क अनिवार्य गराएका छन् । अहिलेसम्म ३६ वटा राज्यका सरकारले स्थानीयहरुलाई मास्क अनिवार्य गराएका छन् ।
सीडीसीले गत महिना गरेको परीक्षणमा तीनपत्रे सर्जिकल मास्क लगाएको व्यक्तिले खोक्दा त्यसका अंशहरुलाई ४२ प्रतिशतसम्म रोक्न सफल भएको थियो । त्यस्तै तीनपत्रे कपडाको मास्कले ४४ प्रतिशतसम्म रोक्न सफल भएको थियो । तर मेडिकल मास्क लगाएर त्यसमाथि कपडाको मास्क लगाउँदा ९२ प्रतिशतसम्म रोक्न सफल भएको थियो ।






