दोश्रो दिन १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै बाइडेन, डिफेन्स प्रोडक्सन ऐन लगाउने


प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार

राष्ट्रपतिको कार्यभार सम्हालेको दोश्रो दिन आज अमेरिकी राष्ट्रपति जो बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । पहिलो दिन १५ वटा कार्यकारी आदेश र २ वटा कदममा हस्ताक्षर गरेका बाइडेनले आज दोश्रो दिन कोरोनाबिरुद्धको भ्याक्सिन लगायतका कैयन कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् ।

भ्याक्सिन वितरण, विद्यालयहरु सुरक्षित तरिकाले खोल्ने र महामारीको सामना गर्ने योजनाहरुसहित बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेका हुन् । भ्याक्सिन वितरण केन्द्रहरुको संख्या बढाउनुका साथै संघीय सामुदायिक भ्याक्सिन वितरण केन्द्रहरु खोल्ने सम्मका योजनाहरु रहेका छन् ।

डिफेन्स प्रोडक्सन ऐन लगाएर भ्याक्सिन उत्पादनको काम बढाउनेदेखि धेरैभन्दा धेरैलाई भ्याक्सिन वितरणका लागि विभिन्न योजनाहरु बनाउने कदम बाइडेनले चाल्ने जनाइएको छ । बाइडेनले आफ्नो कार्यकालको सुरुको एकसयदिनमा १ सय मिलियनलाई भ्याक्सिन वितरण गर्ने योजना बनाएका छन् ।

बाइडेनले हिजो पहिलो दिन १५ वटा कार्यकारी आदेश र दुईवटा निर्देशनमा हस्ताक्षर गरेका थिए । संचारकर्मीहरुकै अगाडि कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायता सम्बन्धि तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका गरेका बाइडेनले एकघण्टामा १५ कार्यकारी आदेश र २ निर्देशनमा हस्ताक्षर गरेका थिए ।

बाइडेनले संघीय भवन र भूभागहरुमा मास्क अनिवार्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् भने एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्दा पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । त्यस्तै बाइडेनले हस्ताक्षर गरेको अर्को कार्यकारी आदेश कम सुविधा पाइरहेको समुदायका लागि सहयोग बढाउने सन्दर्भको रहेको छ भने अर्को कार्यकारी आदेश पेरिस जलवायु सम्झौतामा पुन समावेश हुने रहेको छ ।

बाइडेनले अमेरिका पुन पेरिस सम्झौतामा संलग्न हुने सुचना राष्ट्रसंघ समक्ष पठाएका छन् । विश्वब्यापी तापमान बृद्धिलाई नियन्त्रण गर्ने यो सम्झौतामा सन् २०१५ मा हस्ताक्षर गरिएको थियो तर ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

बाइडेनले ५ वटा अध्यागमन सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई सुदृढिकरण गर्ने आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन् । सातवटा मुस्लिम बाहुल्य देशका नागरिक माथि ट्रम्प प्रशासनको यात्रा प्रतिबन्धलाई बाइडेनले उल्टाउने कार्यकारी आदेश जारी गरेका छन् ।

बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती

त्यस्तै अमेरिकाभित्र अध्यागमन कारवाही गर्ने ट्रम्पको नीतिलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत उल्टाएका छन् । ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि जारी गरेको संकटकाललाई पनि बाइडेनले उल्टाएका छन् । ट्रम्पले सिमानामा पर्खाल लगाउन बजेट जुटाउने उद्देश्यले संकटकालको घोषणा गरेका थिए ।

त्यस्तै लाइबेरियनहरुको वर्क परमिट सन् २०२२को जुन ३० सम्म लम्बाउने र देशनिकालालाई पछाडि सार्ने कदममा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको कदमलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत उल्टाएका छन् । त्यस्तै कोरोनाबिरुद्धको भ्याक्सिनको उत्पादन र वितरणका सन्दर्भमा पनि बाइडेनले कार्यकारी आदेश जारी गरेका छन् ।

देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई कम्तीमा मार्च ३१ सम्म थप गर्ने आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् । त्यस्तै संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज कम्तीमा सेप्टेम्बर ३० सम्म स्थगित गर्ने आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

बाइडेनका १७ कदममा ५ अध्यागमनबारे: यात्रा प्रतिबन्ध खारेज, अध्यागमन कारवाहीमा रोक

वातावरण सन्दर्भमा कीस्टोन पाइपलाइन खारेज गर्ने तथा वातावरणका सन्दर्भमा ट्रम्पले जारी गरेका एकसयभन्दा धेरै कदम पुनरावलोकन गर्न र उल्टाउन एजेन्सीहरुलाई निर्देशन दिने आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन् । जातीय समानताको सुनिश्चित गर्न एजेन्सीहरुलाई दिइएको आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

यौन अभिमुखिकरण र लैंगिक आधारमा काममा हुने विभेद रोक्ने आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् । जनगणनामा नागरिक बाहेक अन्य जनसंख्या समावेश गर्नुपर्ने र सांसदको संख्या निर्धारणमा नागरिक बाहेक अन्यको जनसंख्यालाई पनि गणना गर्नुपर्ने कार्यकारी आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

बाइडेनले आज ट्रम्पका ९ वटा नीतिहरुलाई उल्टाउने आदेशमा हस्ताक्षर गरेका छन् भने ८ वटा नयाँ आदेश र निर्देशन दिएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com